• १७ माघ २०८२, शनिबार

सिन्धुलीमा बढ्दै निर्बाचन सरगर्मी

blog

सुनकोसी गाउँपालिकामा काँग्रेस उम्मेदवार शुशिला थिङ् घरदैलो कार्यक्रम गर्नुहुदै । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, माघ १६ गते । सिन्धुलीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्बाचनको सरगर्मी बढ्दै गएको छ । 

दुईवटा प्रतिनिधिसभा सदस्य रहेको सिन्धुली जिल्लामा ठुलादेखि साना राजीतिक दलले निर्बाचन परिणाम आफ्नो पोल्टामा पार्न प्रचार प्रसारको गतिविधि बढाउँदै गएका छन् । जिल्लामा छ स्वतन्त्रसहित २८ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा रहेका छन् । जसअनुसार निर्बाचन क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १२ जना र निर्बाचन क्षेत्र नं. २ मा पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धाका लागि मैदानमा छन् ।

नेपाली काँग्रेसले निर्बाचन क्षेत्र नं. २ मा सुनकोसी गाउँपालिका –१ स्थित कुशेश्वर महादेव मन्दिरमा बिहीबार पुजापाठ गरी घरदैलो कार्यक्रम सुरु गरेको छ । उक्त मन्दिरमा पुजापाठ गरी बिपी कोइरालाको पुख्र्यौली थलो दुम्जाबाट घरदैलो कार्यक्रम सुरु गरेको सो पार्टीका नेता डम्बर कार्कीले जानकारी दिनुभयो ।

नेकपा (एमाले) ले पनि प्रतिनिधिसभाका दुई वटै निर्बाचन क्षेत्रमा आफ्नो उम्मेदवारलाई जिताउन वडा–वडामा र टोल–टोलमा छलफल, भेला गरिरहेको उक्त पार्टीका प्रचार विभाग प्रमुख कर्ण घिसिङ्ले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘उम्मेदवार पनि गाउँ–गाउँ गई घरदैलो कार्यक्रम गरिरहेका छन् ।  क्षेत्रीय समन्वय समितिको बैठक बसी निर्बाचन परिचालन कमिटी बनाउने र प्रचार प्रसारका थप कार्यक्रम बनाउने काम भइरहेको छ ।’

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले पनि मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनबर्गीय सङ्गठनको बैठक लगायत गतिविधि बढाउँदै लगेको सो पार्टीका नेता गणेश रत्नले जानकारी दिनुभयो । 

निर्बाचन आचार संहिताले पनि फागुन ४ गतेपछि मात्रै खुल्ला रुपमा प्रचार प्रसारका गतिविधि बढाउने भनेकाले अहिले पार्टीको आन्तरिक गतिविधि मात्र भइरहेको उहाँले सुनाउनुभयो ।

जिल्लामा निर्बाचन क्षेत्र नं. २ को निर्बाचन रोचक बनेको छ । काँग्रेस उम्मेदवार शुशिला थिङबिरुद्ध असन्तुष्टी जनाउदै सोही पार्टीका पूर्व जिल्ला उपसभापति खड्गबहादुर वाईवाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यस्तै, नेकपाका उमेद्वार दाहालबिरुद्ध सोही पार्टीका नेता महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेका उमेद्वार मनोजजंग थापाबिरुद्ध सोही पार्टीका नेता सरोज बिकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

तीनै जना स्वतन्त्र उमेद्वारले पनि आफ्ना पक्षमा मत परिणाम ल्याउन घर दैलो कार्यक्रमलाई तीब्रता दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसहित बिभिन्न राजनीतिक दलका उम्मेदवारहरुले प्रचार प्रसारको क्रममा भोट माग्दै मतदाताको घरदैलोमा आउनेक्रम बढेको स्थानीयको भनाइ छ ।