• १६ माघ २०८२, शुक्रबार

जोखिम न्युनीकरणको काम प्रभावकारी : प्रमुख भट्ट

blog

विपद व्यवस्थापनका लागि गरिएको कार्यको अवलोकन गर्दै कार्यकारी प्रमुख भट्ट । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १६ गते । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले विपद जोखिम न्यूनीकरणका लागि नेपालगन्जमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएको बताउनुभएको छ । 

नेपालगन्ज उपमहानगरपालिकामा विपद् व्यवस्थापनमा भएका कामहरुको शुक्रबार अवलोकन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख भट्टले भुकम्प तथा आगलागि नियन्त्रणमा तालीम प्राप्त स्वयमसेवकले तालीमपछि समुदायमा मानवीय तथा भौतिक क्षति कम गर्न काम गरिरहेको पाउँदा खुशी लागेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन भइरहेको शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको सहयोगमा तालिम लिएका करिव ४०० जना स्थानीय स्वयंसेवक रहेका छन् । उनीहरुले समुदायमा आवश्यक परेका बेला विपद व्यवस्थापनमा काम गरिरहेका छन् । 

कार्यक्रम अवलोकनको क्रममा नेपालगन्ज ३ को वडा कार्यालयमा तालिम प्राप्त स्वयमसेवकले ग्यास सिलिन्डरमा लागेमा आगो निभाउने सिमुलेसन समेत गरेर देखाएका थिए ।  

सोही अवसरमा कार्यकारी प्रमुख भट्टले सहरका साघुँरा गल्लीमा गरिएको फायर हाइड्रेन्ट लाइन विस्तार तथा दमकलका लागि आवश्यक पार्ने पानीको व्यवस्थापनका गरिएको कार्यहरुको पनि स्थलगत अवलोकन गर्नुभयो । 

अन्तर स्थानीय तह साझेदारी, दमकल सेवालगायत कार्यमा नेपालगन्ज उपनगरपालकाले उदाहरणीय काम गरिरहेको पाएको भन्दै कार्यकारी प्रमुख भट्टले प्रशंसा गर्नुभयो ।

सो अवसरमा भएको छलफलमा नेपालगन्जमा सुपर परियोजनामार्फत आवासीय बीमा कार्यक्रम, साघुँरा गल्लीमा फायर हाइड्रेन्ट लाइन विस्तार, निजी क्षेत्रको सहभागितामा विपद् जोखिम न्यूनीकरणमा साझेदारी लगायतको क्षेत्रमा विभिन्न कामहरु भइरहेको नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।  

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सुपर परियोजनाले विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि काम गरिरहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।