काठमाडौँ, माघ १६ गते । पोखरामा जारी छैठौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो ।
उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ हात रुपियाँ पायो । उपविजेता बनेको पुलिसले तीन लाख ६६ हजार ६६६ रुपियाँ प्राप्त गरेको छ । थाइल्याण्ड क्विन्स तेस्रो बन्दै दुई लाख ६ हजार ६६६ रुपियाँ पुरस्कार पायो ।
प्रतियोगितामा न्यू डायमण्डकी सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २६ हजार ६६६ रुपियाँ पाउनुभयो । यस्तै उत्कृष्ट सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई हुनुभयो । उत्कृष्ट सबैलाई जनही ११ हजार ६६६ रुपियाँ प्रदान गरियो ।