रामकृष्ण बोहरा
बागलुङ, माघ १६ गते । तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि संकल्प पुनस्र्थापना केन्द्र र पर्पल हेज एभिएम भिड्ने भएका छन् । शुक्रबार बाङेचोर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै संकल्प र पर्पल हेजले फाइनल यात्रा तय गरेका हुन् ।
शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा उपाधि दाबेदार मानिएको संकल्पले रुद्रेपिपल युवा क्लबलाई ०–२ गोल अन्तरले पाखा लगायो । संकल्प दोस्रो स्मृति कपको उपविजेता टोली हो । संकल्प पुनस्र्थापना केन्द्रको जितमा खेलको पहिलो हाफमा उर्गेन तामाङले १६ र रविन मगरले ३६ औं मिनेटमा गोल गर्नुभएको थियो ।
यस्तै, शुक्रबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक बागलुङ युनिटी क्लब ‘बी’ लाई ०–३ गोल अन्तरले पराजित गर्दै पर्पल हेज एभिएम उपाधिनजिक पुगेको छ । पर्पल हेजको जितमा संगम केसीले २ र अभिषेक केसीले एक–एक गोलको योगदान गर्नुभयो । संगमले खेलको ४४ र ७९ औं गोल गर्दा अभिषेक केसीले ७० औं मिनेटमा गोल गर्नुभएको थियो ।
फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजक बागलुङ युनिटी क्लबका सचिव रमेश भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता नगद २ लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपियाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमलाई २० हजार प्रदान गरिनेछ । खेलमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विधामा पुरस्कृत गरिने क्लबका सचिव भण्डारीले जानकारी दिनुभयो ।