• १६ माघ २०८२, शुक्रबार

ओखलढुङ्गाका उम्मेदवार लुइटेल मत माग्दै पोखरामा

blog

शुक्रबार पोखरामा बस्ने ओखलढुङ्गेसँग मत माग्दै नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेल। तस्बिरः फडिन्द्र अधिकारी

लेखनाथ, माघ १६ गते। राजनीतिक दल र उम्मेदवारलाई अहिले चुनावी चटारो छ। सम्पर्क कार्यालय स्थापना, मतदाता भेटघाटसहित घरदैलोमा उनीहरु व्यस्त छन्।  यसै क्रममा पूर्वीको कोशी प्रदेशको ओखलढुङ्गाबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका कुमार लुइटेल शुक्रबार पोखरा आइपुग्नुभयो।  

विभिन्न पेशा, व्यवसायको शिलशिलामा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका मतदातालाई भेट्न उम्मेदवार लुइँटेलसहित नेपाली कांग्रेस ओखलढुङ्गा उपसभापतिद्वय कमल तामाङ र नवराज केसी, प्रजातान्त्रिक सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालसहितको टोली यहाँ आएको हो।  

नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्यसमेत रहनुभएका लुइटेलले पुरानाको भरोसा र नयाँको आशाको आफ्नो उम्मेदवारी भएको दाबी गर्नुभयो।  पहिलो पटक संसदीय निर्वाचनमा उत्रिनुभएका लुइँटेलले भौतिक पूर्वाधार निर्माण गर्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।  

“यसपालि नेपाली कांग्रेस पार्टी एकाकार छ।  बदलिएको परिवेशमा हामी बदलिएर आएका छौँ,” उहाँले भन्नुभयो, “पुरानो पार्टीको पुरानो मान्छे भए पनि म कांग्रेसभित्रको नयाँ अनुहार हुँ।  अबको युगलाई अघि बढाउने योजना र खाकासहित आएको छु।” 

कार्यक्रममा प्रजातान्त्रिक सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल जिल्लामा विकासका पूर्वाधारको यथोचित विकास गरी समृद्धिमा अघि बढ्न ऊर्जाशील, युवा र सक्षम नेतृत्व आवश्यक भएकोमा जोड दिनुभयो।  नेपाली कांग्रेस ओखलढुङ्गा उपसभापतिद्वय कमल तामाङ र नवराज केसीले मलुङ पारिबाट पाहिलोपटक कांग्रेसले उम्मेदवार उठाएको जनाउँदै पेशा, व्यवसायको शिलशिलामा जहाँ पुग्नुपरे पनि निर्वाचनमा गाउँ फर्किन आग्रह गर्नुभयो।  

पूर्वाञ्चल सेवा समाजका अध्यक्ष बालकुमार लुइटेलको अध्यक्षतामा कार्यक्रम भएको हो।  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावमा ओखलढुङ्गामा प्रमुख राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ।  जिल्लामा नेपाली कांग्रेसबाट कुमार लुइटेल, नेकपा (एमाले)बाट अस्मिता थापा, नेकपाबाट अम्बिरबाबु गुरुङ र रास्वपाका उम्मेदवार विश्वराज पोखरेलबीच बहुपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ।  

आठ स्थानीय तह र एक निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्यका लागि १५ जना मैदानमा छन्।  नेकपा उम्मेदवार गुरुङ कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुनुहुन्छ।  यहाँ निर्वाचनकै मुखमा एमाले परित्याग गरी नेकपा उम्मेदवार बन्नुभएको हो। 

एमालेकी उम्मेदवार अस्मिता थापा लिखु गाउँपालिका उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा आउनुभएको हो भने।  रास्वपाका उम्मेदवार विश्वराज पोखरेल नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुनुहुन्छ । २०७९ को निर्वाचनमा ओखलढुङ्गाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी हुुनुभएको थियो।