• १६ माघ २०८२, शुक्रबार

कोरियाली विज्ञको सुझाव : समावेशी शिक्षा नेपालमा अझै विस्तार गर्नुपर्छ

blog

काठमाडौँ, माघ १६ गते। विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको शिक्षा तथा सिकाइको क्षेत्रमा नेपालमा सञ्चालन गरिएको विशेष शिक्षा अभियान मार्फत कोरियाले महत्वपूर्ण सहयोग पुर्‍याएको विभिन्न विश्वविद्यालयका पदाधिकारीले बताउनुभएको छ। 

विशेष शिक्षा कार्यक्रमबाट उत्पादित स्नातकलाई रोजगारीको अवसर विस्तारका सम्बन्धमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीले विशेष शिक्षालाई मुलुकको शिक्षा प्रणालीको अभिन्न अंग बनाउनुपर्ने समेत बताउनुभयो। विशेषगरि विशेष शिक्षा कार्यक्रमले विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकालाई पढाउने शिक्षक उत्पादन गर्छ। 

यस कार्यक्रमको सुरुवात नेपालमा पहिलोपटक त्रिभुवन विश्वविद्यालयले सन् २०१५ देखि सुरु गरेको हो। अहिले अन्य विश्वविद्यलयमा पनि यस विषयको पढाई हुन्छ। त्रिवि लगायतका विश्वविद्यालयम यो कार्यक्रम विस्तारको लागि स्थापनादेखि नै दक्षिण कोरियाको चाङवान नेशनल विश्वविद्यालय अन्तर्गत सञ्चालित लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनलको अपरेसन (लुपिक) परियोजनाको सहयोग रहेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा.डा. वेदराज आचार्यले नेपालमा विशेष शिक्षाको सुरुवात गर्ने क्रममा कोरियाका शैक्षिक संस्थाका भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। 


लुपिक परियोजनाको सहयोगमा सुरुका वर्ष स्नातक तहको मात्रै पढाई सञ्चालन भएको भए पनि अहिले स्नातकोत्तर, एमफिल र विद्यावारिधी तहसम्मको पढाइ भइरहेको आचार्यले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “विशेष आवश्यकताको शिक्षाको पढाइ सुरु भएसँगै लुपिकमार्फत उत्कृष्ट विद्यार्थीलाइ छात्रवृत्ति, कोरियामा नै पिएचडी लगायतको सुविधा उपलब्ध भएको छ। आउने दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिनु आवश्यक छ ।” विशेष आवश्यकताको शिक्षा कार्यक्रमबाट उत्पादित विद्यार्थी बजारमा सहजै रोजगारीमा गइरहेको र यस कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थी पनि प्रशस्तै रहेको आचार्यले जानकारी दिनुभयो। 

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विशेष शिक्षा विभागका प्रमुख उप प्राध्यापक राजु आचार्यले लुपिक परियोजना मार्फत विद्यार्थीलाई छात्रवृत्ति तथा अध्ययन अवलोकनको मौका उपलब्ध भएको बताउनुभयो। उहाँले भन्नुभयो, “विशेष आवश्यकताको शिक्षा कार्यक्रममा हरेक सेमेष्टरमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई लुपिक मार्फत पचास प्रतिशत बराबरको रकम छात्रवृत्ति स्वरुप उपलब्ध गराइन्छ। जसले विद्यार्थीमा यस कार्यक्रममा भर्ना भएर पढ्न आकर्षित गराइरहेको छ ।”

विशेष शिक्षालाई प्रभावकारी बनाउन हरेक स्कुलमा एक जना समावेशी शिक्षक राख्नुपर्ने र यसको लागि सरकारले सहजीकरण गरिदिनुपर्ने उहाँको भनाइ थियो। पूर्वाञ्चल विश्वविद्यालयका निर्देशक महेशप्रसाद निरौलाले विशेष आवश्यकताको शिक्षालाई विस्तार गर्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा दक्षिण कोरियाबाट आउनुभएका चाङवान नेशनल विश्वविद्यालय अन्तर्गत सञ्चालित लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनलको अपरेसन (लुपिक) परियोजनाका निर्देशक प्रा.डा जङ देइयोङ्ले नेपालमा विशेष आवश्यकताको शिक्षाको क्षेत्रमा निकै राम्रो प्रगति भइरहेको बताउनुभयो। 

विशेष आवश्यकताको शिक्षा सम्बन्धी कार्यक्रमबाट उत्पादित विद्यार्थी सहजै रोजगारीमा जान सक्नु खुशीको कुरा भएको बताउँनुहुँदै जङ देइयोङ्ले भन्नुभयो, “यस कार्यक्रमलाई प्रभावकारी बनाउन हामी अझ सक्दो सहयोग गर्छौ। यो नेपाल र कोरियाबीचको सम्बन्धलाई गाढाा बनाउने मौका पनि हो ।”

कोरियाको कोङ्जु नेशनल विश्वविद्यालयका विशेष शिक्षा विभागका प्राध्यापक ख्वाक सेउनचुलले कोरियामा सरकारबाट विशेष शिक्षा सम्बन्धी कानुन बन्न थालेपछि यसप्रति ह्वात्तै आकर्षण बढेको र कोरिया सरकारले अहिले पनि अपाङ्गता भएका विद्यार्थीको पढाई तथा हेरचाहलाई उच्च महत्त्व दिने गरिएको बताउनुभयो। 

कोरियाकै थेगु साइबर विश्वविद्यालयका प्राध्यापक पार्क सङ्घीले कोरियाम अपाङ्गता भएका बालबालिकालाई पढाउन प्रयोग गरिएको शैक्षिक, भौतिक तथा अन्य प्रकारका प्रणालीको बारेमा ब्याख्या गर्नुभएको थियो। लुपिक परियोजनाकी परियोजना व्यवस्थापक किम युङयोङले लुपिक परियोजनामार्फत विश्वविद्यालय तथा विद्यालयमा सहायता गरिरहेको जानकारी दिनुभयो।