रसुवा, माघ १६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले मतदाताले यो पटक परिवर्तन खोजेको बताउनुभएको छ।
घरदैलोका क्रममा स्थानीयसँगको प्रत्यक्ष संवादबाट परिवर्तनप्रतिको चाहना अझ प्रष्ट भएको भट्टको भनाइ छ। उहाँले भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै रसुवालीको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने उल्लेख गर्नुभएको छ।
भट्ट नेपाली कांग्रेसका पूर्व सांसद मोहन आचार्य र एमालेका प्रेम तामाङसँग प्रतिस्पर्धामा हुनुहुन्छ। चुनावी अभियानकै क्रममा भट्टले रोजगारी सिर्जना, पर्यटन र कृषिको पुनर्जागरण, जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व, सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्ने एजेन्डा प्रस्तुत गर्नुभएको छ।
तामाङ समुदायको बाहुल्य रहेको रसुवामा घरदैलो गर्दा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको उहाँले बताउनुभयो।