गोरखापत्र अनलाइन
झापा, माघ १६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको चुनावी कमान्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले खर्बभन्दा बढीको क्षति हुनेगरी सरकारी भौतिक संरचना तोडफोड गर्ने गराउनेप्रति नेपाली जनता सचेत रहनुपर्ने बताउनुभएको छ ।
एमाले मनकामना टोल कमिटी दमक ८ ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै नेता दाहालले गत भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड गर्न उक्साउनेको निर्वाचनमा हिसाब हुनुपर्ने धारणा राख्नुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको बताउँदै त्यसको सही मूल्याङ्कन गर्ने समय आएको बताउनुभयो । ओलीको भूमिका स्थानीय विकास मात्र नभई राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
पार्टीको मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलामा मुलुकलाई ध्वस्त पार्ने, राजनीतिक दर्शन केही नभएको उम्मेदवारबाट मुलुकको विकास सम्भव नहुने नेता दाहालले बताउनुभयो।
टोल भेलामा सहभागी अगुवा कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकले राखेको प्रश्नको जवाफ दिँदै नेता दाहालले सूर्य चिन्हमा मतदान गरी एमालेलाई नजिताएसम्म देश, क्षेत्र वडा र टोलको विकास अधुरो रहने बताउनुभयो । भेलामा सहभागी चन्द्रकला मिश्रले दमक ८ मा धनीपूर्जा वितरणको काम किन भएन भन्ने प्रश्नको जवाफ दिँदै एमाले र कांग्रेस सरकारमा रहेर धनीपुर्जा वितरणको तयारी गरेका बेला जेनजी आन्दोलनपछि बनेको सरकारले आयोग खारेज गरेका कारण समयमा काम हुन नसकेको बताउनुभयो ।
सर्वोच्च अदालतले आयोग पुनःस्थापना गरेपछि आयोगको काम पुनः अघि बढेको बताउनुभयो । अहिले आयोगलाई काम गर्न कर्मचारीको आवश्यकता भए पनि सरकारले उपलब्ध नगराएको उहाँले टिप्पणी गर्नुभयो । अध्यक्ष ओली उम्मेदवार रहेको झापा ५ मा एमालेले २९ वटै वडामा वडा र टोल कमिटी गठन गरेर निर्वाचनको प्रचार प्रसार व्यापक बनाएको छ ।