ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १६ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दी १२ वर्षपछि एक्लै चुनावी मैदानमा उत्रिएको छ। हालको नेकपा र तत्कालीन नेपाल कम्युनिस्ट (माओवादी केन्द्र)ले यस अघिका दुई वटा निर्वाचन अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन गरेको थियो।
दुई वटा निर्वाचनमा पार्टीको चुनाव चिह्नमा मत हाल्न नपाएका कार्यकर्ता यसपाली भने आफ्नै पार्टीको चुनाव चिन्हमा मत खसाल्न पाउँदा कार्यकर्तामा उत्साह बढेको छ। २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई र २०७९ को निर्वाचनमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर कांग्रेसलाई जिताएको थियो।
माघ ६ गते उम्मेदवारी दर्ता गरेसँगै नेकपाका उम्मेदवार अर्जुन थापा ग्रामीण बस्तीका मतदाताको घरदैलोमा चुनावी अभियानका बारेमा छलफल गर्नुका साथै मत माग्न पुग्नुभएको छ ।
रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा कार्यकर्ता भेटघाट, घरदैलो र चुनावी छलफलपछि नेकपाका नेतासहितको टोली अहिले धवलागिरि गाउँपालिकाको विभिन्न वडामा पुगेको छ। पार्टीको आफ्नै उम्मेदवारसहित घरदैलोमा पुग्दा कार्यकर्ता खुसी भएको नेकपाका केन्द्रीय सदस्य तथा म्याग्दीका युवा नेता रेशम जुग्जालीले बताउनुभयो।
पहिला भन्दा यसपाली पार्टीको मत बढ्ने र चुनावमा विजयी हुने उहाँले दाबी गर्नुभयो। कांग्रेस, एमालेका मत स्वतन्त्र उम्मेदवार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले काट्ने र आफ्नो मत सुरक्षित गर्न सकेमा जीत निकाल्न सक्ने उहाँले बताउनुभयो।
नेकपा उम्मेदवार थापाले संसदमा युवा पुस्ताको माग अनुसार नीति निर्माणमा सक्रिय भूमिका खेल्ने, विकास निर्माणका लागि सरकारसँग पहुँच स्थापित गर्ने र स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणका योजना अगाडि बढाउने बताउनुभयो।
२०७९ मा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, तत्कालीन माओवादी केन्द्रले नौ हजार ७०, रास्वपाले तीन हजार ५७९, राप्रपाले एक हजार २५३, मङ्गलोल नेसनल अर्गनाइजेसनले ९१९ र एकीकृत समाजवादीले २८५ मत प्राप्त गरेका थिए।
समानुपातिक तर्फको मतलाई आधार मान्दा नेकपा जिल्लामा तेस्रो शक्ति हो। स्वतन्त्र उम्मेदवारले पहिलो र दोस्रो शक्तिको मतलाई आकर्षित गरेमा तेस्रो शक्ति नेकपाका उम्मेदवार विजयी हुने विश्वास नेता जुग्जालीले व्यक्त गर्नुभयो।
म्याग्दीमा कांग्रेसबाट कर्णबहादुर भण्डारी(केबी) नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेकपाबाट अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरेको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट देवेन्द्र कामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेसलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डा. महावीर पुन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।
एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन्। ती मध्य ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन्।
जिल्लाभर ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र आठ वटा मतदान स्थललाई समान्य भनेर वर्गीकरण गरेको छ।