काठमाडौँ, माघ १६ गते । गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ।
निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै गृहले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तयार गरी सोहि बमोजिम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।
वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापन लगायतका कार्यमा समावेश गराई निर्वाचनमा निजको अपनत्व अभिवृद्धि गरी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।
अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीको जिम्मेवार बनाइएको छ भने यसको कार्यान्वयनको अनुगमन र निगरानी गर्ने जिम्मेवारी गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयको हुने व्यवस्था गरिएको छ।
समन्वय एवं सहकार्यलाई अभिवृद्धि गर्ने सम्बन्धमा अवधारणापत्रले वडातहमा रहेका त्यस्ता व्यक्तिको पहिचान गरी सूची तयार गर्ने, मतदान स्थलको स्थलगत निरीक्षणको क्रममा निजसहितको बैठक आयोजना गर्ने, समयसमयमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका पदाधिकारीबाट सहजता एवं प्रभावकारीता अनुसार टेलिफोनबाट सम्पर्क गर्ने, समूह एसएमएसबाट सूचना प्रवाह गर्ने, भर्चुअल माध्यमबाट सम्पर्क, सम्वाद, छलफल, अन्तर्क्रिया लगायतका गतिविधी गरिने व्यवस्था गरेको छ।