• १६ माघ २०८२, शुक्रबार

हिमपात कृषि र पशुपालनलाई बरदान

blog

उपल्लो मुस्ताङको छोसेरको उच्च लेकको चरन क्षेत्रमा च्याङ्ग्रा । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), माघ १६ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरूङले हिमपातसँगै समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइमा रहेका च्याङ्ग्रा गोठमा सार्नुभएको छ । 

मध्ये माघ महिनामा हिमपात भएपछि ७ सयभन्दा बढी च्याङ्ग्रा जोगाउन हम्मे–हम्मे परेको छ । उपल्लो मुस्ताङमा पछिल्लो ५ बर्षपछि बाक्लो हिमपात भएपछि चरन क्षेत्रमा रहेको गोठमा च्याङ्ग्रा, याक, चौरी जोगाउन हम्मे परे पनि हिमपातले राम्रो घाँस पलाउने भन्दै कृषक खुसी छन् । 

जलवायु परिवर्तनका कारण हिमपात नहुँदा चरन क्षेत्रमा पर्याप्त घाँस नभएको भन्दै निराश भएका मुस्ताङका कृषि तथा पशुपालनको क्षेत्रमा सक्रिय रहेका कृषकहरू उत्साहित छन् । हिमपातले चरन क्षेत्रका याक, चौरीलाई समेत आवश्यक पर्ने तापक्रमलाई सहज हुन्छ । पछिल्ला केही बर्ष यता नियमित हिमपात नहुँदा याक र चौरीको चरनसँगै बासस्थान उच्च हिमाली क्षेत्रमा उक्लिएको थियो । 

उपल्लो मुस्ताङमा करिब ३ फिटसम्म हिमपात भएको क्षेत्रमा विगत पाँच बर्षसम्म तापक्रम ऋणात्मक हुँदा खोला, धारा र सिँचाइ कुलो जमे पनि हिमपात भएको थिएन । उपल्लो क्षेत्रमा एकबाली हुन्छ । जाडो याममा नियमित बाली नहुने भए पनि खेतबारीमा चिस्यानका कारण बर्खेबाली र स्याउ खेतीको उत्पादनमा सहज हुने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका कार्यालयका प्रमुख डा. लालमणी अर्यालले बताउनुभयो । 

डा. आर्यालले भन्नुभयो, ‘‘यस पटकको हिमपातले कृषि र पशुपालन क्षेत्रमा बरदान सावित हुनेछ, बाक्लो हिउँ जमेका कारण चरन क्षेत्रमा नयाँ घाँसलाई राम्रो हुन्छ ।’’ नियमित बर्षा र हिमपात नहुँदा कृषि र पशुपालन क्षेत्रमा नकारात्मक असर गरेको बताउँदै डा. अर्यालले हिमपातले मूख्य बाली स्याउ, अमिलो प्रजातिका अन्य फलफूल, आलुलगायतका कृषिजन्य बस्तुको उत्पादनमा सहज हुन्छ । 

मुस्ताङमा बुधबार परेको हिमपातले पशुपालन र कृषि क्षेत्रमा क्षतिको कुनै विवरण प्राप्त नभएको कार्यालय प्रमुख डा. अर्यालको भनाइ छ । स्याउको परागसेचनका लागि चिसो तापक्रम आवश्यक पर्छ । स्याउ खेतीमा देखिने विभिन्न रोगको प्रकोप समेत घट्ने वारागुङ मुक्तिक्षेत्र –१ खिङ्गा गाउँका कृषक छेवाङ नयन गुरूङले बताउनुभयो । 

पुस–माघको हिमपात लामो समयसम्म जमिनमा जमेर बस्दा बाली नष्ट गर्ने किरालाई समेत क्षति गर्ने र उत्पादन बृद्धि हुन्छ । पर्याप्त सिँचाइको अभावका कारण उत्पादन घट्ने अवस्थामा बाक्लो हिउँ र बर्षाले आगामी बर्ष हरेक कृषि तथा फलफूलको उत्पादन बढ्ने कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ । 

जिल्लाको थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा यस सिजनमा दुई पटक हिमपात भएको छ । नियमित हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउने गरेको थियो ।