बिष्णुप्रसाद पोखरेल
दमक, माघ १६ गते । सतार (सन्थाल) आदिवासी समुदायले मनाउने सोहराय पर्व यस वर्ष पनि परम्परागत उल्लासका साथ मनाउन सुरु भएको छ । कृषि, प्रकृति र पशुपालनसँग गहिरो रूपमा जोडिएको यो पर्व धानबाली भित्र्याएपछि सिमान्तकृत तथा लोपन्मुख अवस्थामा मुख्न लागेको सन्थाल जातीको प्रमुख सांस्कृतिक उत्सव हो ।
शुक्रबारदेखि मनाएर आईतबार सकिने सोहरायको मुख्य दिन हो । झापासहित पूर्वी नेपालमा मात्र बसोबास रहेको सन्थाल जातीको प्रमुख पर्व सोहरायले सन्थाल अर्थात् सतार समुदायको जीवनदर्शन, श्रमको सम्मान र सामूहिक एकताको प्रतीक बोकेको छ । विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने सतार समुदायले सोहराय पर्व माघ महिना वा स्वस्थानीको पूर्णिमाको अवसर पारेर मनाउने गर्छन् ।
खेतीपातीको चक्रअनुसार मिति केही फरक पर्न सक्ने भएपनि धान भित्र्याईसकेर गाई–गोरुको पूजा, सामूहिक भोज र नाचगानसहित पर्व मनाइने गरेको सन्थाल अगुवा लुखीराम मुर्मु सतारले बताउनुभयो । उहाँका अनुसार सोहराय पर्वको मुख्य विशेषता गाई–गोरुप्रतिको सम्मान हो । सतार समुदायका लागि गाई–गोरु खेतीका सहयात्री मानिन्छन् ।
पर्वका दिन गाई–गोरुलाई नुहाइदिने, सिंगार्ने, तेल–सिन्दुर लगाइदिने र विशेष आहार खुवाउने परम्परा छ । यसले पशुप्रति कृतज्ञता र प्रकृतिसँग सहअस्तित्वको भावना उजागर गर्ने उहाँले जानकारी दिनु भयो । सोहराय पर्वमा परम्परागत पूजा, सामूहिक नाचगान, भोजका साथै भित्ते चित्रकला (सोहराय आर्ट) विशेष आकर्षणका रूपमा रहने गर्छ ।
गाउँका माझी, नायकेजस्ता अगुवाको नेतृत्वमा पुर्खा र प्रकृति देवताको पूजा गरिन्छ । राम्रो बाली, समुदायको समृद्धि र रोगव्याधिबाट जोगिने कामना गरिन्छ । सोहराय पर्वको अर्को महत्वपूर्ण पक्ष सांस्कृतिक नाचगान भएको मणिलाल मुर्मुले बताउनु भयो । ढोल, मादल, तामक र तिरियो बाजाको तालमा युवायुवती गोलाकार घेरामा नाच्ने परम्परा छ । यो नाचगान मनोरञ्जन मात्र नभई पुस्तौंदेखि संस्कृति हस्तान्तरण गर्ने माध्यम भएको उहाँको कथन रहेको छ ।
आधुनिकता, बसाइँसराइ र सांस्कृतिक दबाबका बीच सोहराय पर्व सतार समुदायका लागि पहिचान जोगाउने माध्यम बन्दै गएको छ । यस पर्वले भाषा, परम्परा र सामुदायिक मूल्यलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको आदिबासी अगुवाहरुको भनाई छ सोहराय पर्व सतार समुदायको फसल भित्र्याएको खुशी मात्र नभएर, प्रकृति, श्रम, पशु र समुदायबीचको सम्बन्धलाई सम्मान गर्ने सांस्कृतिक उत्सव भएको जनाइएको छ ।
यस्ता पर्वले सांस्कृतिक सहअस्तित्व र बहुलताको सन्देश दिइरहेको कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो । कमल गाँउपालिका पनि सन्थाल जातीको बाहुल्यता रहेको छ । कमल गाँउपालिकाको ५ स्थानमा वर्षेनी सन्थाल सास्कृतिक नाच प्रतियोगिता हुने गरेको छ । दसैँको नवमीदेखि पूर्णिमासम्म कमलका बिभिन्न ठाँउहरुमा लाग्ने दशै मैलाको प्रमुख आकर्षण नै सन्थाल नृत्य हुने गर्छ ।