• १६ माघ २०८२, शुक्रबार

लोकतान्त्रिक अधिकारको बिउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

blog

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ,  माघ १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बिउ १९९७ सालका सहिदहरूले रोपेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै  उहाँले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बिउ सहिदहरूले रोपेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्दै  त्यस्तो शासनको अन्त्य गर्न कम्युनिस्ट र कांग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।

“निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बिउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको बलिदानले रोपेको हो”, सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले सहिदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाउनुभएको छ । रासस