सचिन पोख्रेल
विराटनगर, माघ १६ गते । गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत पूर्वी नेपालमा सादा पोशाकका घुमुवा प्रहरी परिचालन अझै रोकिएको छैन । त्यसमा पनि विशेषगरी मोरङ जिल्लामा घुमुवा प्रहरी परिचालनको क्रम रोकिएको देखिदैन । खुला नेपाल–भारत सीमा क्षेत्र, सीमावर्ती नाका तथा तस्करी संवेदनशील क्षेत्रलाई केन्द्र बनाएर घुमुवा प्रहरी परिचालन गर्दै अवैध असुली भइरहेको भन्दै गम्भीर जनगुनासो आउन थालेका छन् ।
मन्त्रालयले विगत केही वर्षदेखि सादा पोसाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपमा बन्देज लगाएको छ । त्यस अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले पनि सुधार अभियानअन्तर्गत देशभर वर्षौंदेखि एउटै स्थानमा बसेर ‘असुली नेटवर्क’ सञ्चालन गरिरहेका घुमुवा प्रहरीलाई कारबाही र सरुवाको प्रक्रिया अघि बढाएको थियो । सो अभियानका क्रममा पछिल्लो समय देशभर पचासभन्दा बढी घुमुवा प्रहरी कारबाहीमा परेका थिए भने धेरैलाई काठमाडौँ तानिएको छ ।
तर, ती सबै प्रयासका बाबजुद मोरङ जिल्लामा भने जिल्ला प्रहरी कार्यालयदेखि मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र सीमाप्रहरी युनिटसम्म सादा पोसाकका घुमुवा प्रहरी व्यापक रूपमा परिचालित भइरहेको आरोप छ । झापा, मोरङ र सुनसरीका भारतीय सीमावर्ती नाका तथा खुला सीमा क्षेत्रबाट भन्सार छलेर हुने तस्करी बढिरहेका बेला सो क्षेत्रमै घुमुवा प्रहरी सक्रिय रहेको जनगुनासोहरू सार्वजनिक भइरहेका छन् ।
तस्करी नियन्त्रण होइन, ‘सेटिङ’ र असुलीमा केन्द्रित रहेको आरोप
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार कतिपय अबस्थामा सादा पोशाकमा घुमुवा प्रहरीलाई अपराध अनुसन्धान, सूचना सङ्कलन तथा फरार अभियुक्त पक्राउ गर्ने उद्देश्यले परिचालन गरिएको छ । तर उहाँको त्यस्तो दाबी गरेपनि व्यवहारमा उनीहरू तस्करी लाइन मिलाउने, अवैध व्यापार सञ्चालनमा संरक्षण दिने र होटल, लज, क्यासिनो, क्रसर उद्योग तथा अवैध यौनधन्दामा संलग्न व्यवसायीबाट रकम असुली गर्ने कार्यमा केन्द्रित हुने गरेको आरोप छ ।
विशेषगरी मोरङ जिल्लामा जिल्ला बाहिर वा प्रदेश बाहिर दरबन्दी भएर पनि एक दशकभन्दा लामो समयदेखि घुमुवाकै रूपमा कार्यरत प्रहरीहरू रहेको आरोप छ । उनीहरू व्यक्तिगत फाइदामात्र नभई कार्यरत युनिट र माथिल्लो निकायसम्म ‘हिस्सा’ पु¥याउने गरी असुली गर्दै आएको जनगुनासो मोरङमा व्याप्त छ ।
प्रहरी उपरीक्षक कटुवालको घोषणा र व्यवहारबिच विरोधाभास
मोरङ प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक कवित कटुवालले आफु आएको करिब एक महिनापछि जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभरका युनिटबाट सादा पोसाकका प्रहरी हटाउने अभियान सुरु गरेको सार्वजनिक गर्नुभएको थियो । तर पछिल्लो समय आएर मोरङका अधिकांश युनिटमा घुमुवा प्रहरीको सङ्ख्या घट्नुको साटो बढ्दै गएको आरोप लाग्न थालेको छ ।
को–को छन् आरोपको घेरामा ?
जिल्ला प्रहरी कार्यालय मोरङमा वरिष्ठ प्रहरी नायब निरीक्षक राजेन्द्र कटुवाल, प्रहरी सहायक निरीक्षक नवराज कार्की र प्रहरी सहायक हवल्दार उत्सब थापा घुमुवाको रूपमा कार्यरत रहेका छन् ।
आपराधिक सूचना सङ्कलन र फरार अपराधी पक्राउ गर्ने नाममा परिचालित उनीहरूले जिल्ला तहका लागि विभिन्न तस्कर तथा अवैध गतिविधिमा संलग्न पक्षबाट रकम असुली गर्ने गरेको बताइन्छ ।
त्यसैगरी, वडा प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय रानी, सिजुवा, रंगेली, बेलबारी, उर्लाबारी लगायतका क्षेत्रमा लामो समयदेखि घुमुवा प्रहरी निरन्तर परिचालित छन् ।
वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार जागेश्वर गोइत, जिप्रका उदयपुर दरबन्दी भएर करिब आठ वर्षदेखि इप्रका रानीमा रहेका सहायक हवल्दार अभिनाश राय, रानीमै कार्यरत प्रकाश कटुवाल, दंगा प्रहरी गण दुहबी दरबन्दी भएर इप्रका सिजुवामा सहायक हवल्दार सुबास खत्री बिगत ७/८ वर्षदेखि घुमुबाको रुपमा काम गर्दै आएका छन् । भारतीय सिमावर्ती क्षेत्रबाट गाई गोरुको तस्करसंग लाइन मिलाउने काम गर्दै आएका खत्रीको दरबन्दी दुहबीस्थित दङ्गा प्रहरी गणमा रहेको छ । इप्रका रंगेलीमा रहेका धर्म कार्की लगायतका प्रहरी सादा पोसाकमै घुमुवाको काम गरिरहेको आरोप छ ।
त्यस्तै, जिप्रका मातहतका इप्रका उर्लाबारीमा प्रहरी हवल्दार धनबहादुर मगर लामो समयदेखि र बलबारीमा सहायक हवल्दार राजु तिवारी तीन बर्ष बसेको बताइएको छ ।
त्यस्तै, इप्रका पथरी लगायतका क्षेत्रहरूमा पनि घुमुवा प्रहरी परिचालन गरी अवैध रकम असुलीलाई प्राथमिकता दिइएको जनगुनासो छ ।
हटाइएका घुमुवा फेरि जिम्मेवारीमा
अपराध अनुसन्धानका नाममा परिचालित घुमुवा प्रहरी अवैध गतिविधिमा संलग्न रहेको गुनासोपछि केही समयअघि उनीहरूको जिम्मेवारी खोसेर सरुवा गरिएको र युनिफर्ममै ड्युटीमा खटाइएको बताइए पनि हाल फेरि तिनै प्रहरीलाई पुनः घुमुवाको जिम्मेवारी दिइएको आरोप छ । जिल्ला प्रहरी कार्यालयबाट घुमुवाको जिम्मेवारी खोसिएका सहायक हवल्दार उत्सव थापालाई केही महिना नबित्दै पुनः सोही जिम्मेवारी दिइएको घटनाले सुधार अभियानमाथि नै प्रश्न उठाएको छ ।
यस विषयमा मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जनगुनासो आएजस्तो मोरङमा घुमुवाको नाममा अबैध असुली र गलत क्रियाकलाप केही नभएको दाबी गर्नु भयो । उहाँले मोरङमा पूर्ण रुपमा ‘फुल टाइम’ कसैलाई पनि सादा पोशाकमा परिचालन नगरिएको बताउदै विशेष किसिमका अपरेसलन काममा परिचालन गरिएका सादा पोशाकका प्रहरीले काम सम्पन्न भएपछि बर्दी लगाएर डिउटी गर्ने गरेको दाबीसमेत गर्नुभएको छ ।