जीवछ यादव
लहान, माघ १६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लामा ‘जेनजी’ आन्दोलनको प्रभाव बढ्दै गएको देखिएको छ । सो आन्दोलनको प्रभावका कारण सिरहाका चारवटै निर्वाचन क्षेत्रमा जेनजी आन्दोलनका अगुवा उम्मेदवारहरूप्रति मतदाताको झुकाव देखिन थालेको छ ।
जेनजी आन्दोलनका सिरहाका तीन अगुवामध्ये बब्लु गुप्ता र शिवशङ्कर यादव प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभको छ भने पुरुषोत्तम यादव समानुपातिक सूचीमा समेटिनुभएको छ । उहाँहरूको पहलमा लामो समयदेखि अलपत्र परेको सिरहा–धनुषा जोड्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण, लहानस्थित रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन तथा स्थानीय तहमा देखिएका अनियमितताविरुद्ध खबरदारीजस्ता कार्य भएपछि जनसमर्थन बढ्दै गएको बताइन्छ ।
नागरिक अगुवा दिनेश यादवका अनुसार सिरहा जिल्ला हरेक परिवर्तनका आन्दोलनमा अग्रणी भूमिका खेल्दै आएको जिल्ला हो । “भदौ २३ र २४ गतेको आन्दोलनमा बब्लु गुप्ता, शिवशङ्कर यादव र पुरुषोत्तम यादवको महत्त्वपूर्ण योगदान थियो । लहान–१५ का विजय चौधरीले सहादत समेत प्राप्त गर्नुभएको थियो । यही आन्दोलनको प्रभाव अहिले चुनावी मैदानमा देखिन थालेको हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार यदि यो प्रभाव निर्वाचन दिनसम्म कायम रहन सके सिरहामा परिवर्तन निश्चित छ ।
सिरहाको दक्षिणी भेग हुलाकी सडक क्षेत्रमा सक्रिय पत्रकार सन्तोष यादवका अनुसार विदेशमा रहेका युवाहरूले समेत फोनमार्फत जेनजी आन्दोलनका अगुवालाई जिताउन आग्रह गरिरहेका छन् । “वृद्धवृद्धादेखि युवासम्म पुराना दलले गर्न नसकेको काम जेन–जी आन्दोलनपछि सम्भव भएको प्रतिक्रिया आइरहेको छ । यसपटक नयाँ अनुहार रोज्ने मनस्थिति व्यापक छ,” उहाँले बताउनुभयो ।
नाम सार्वजनिक नगर्ने सर्तमा लहान नगरपालिकाका एक पूर्व वडाध्यक्षले आफू पुरानो दलको जिम्मेवार नेता भए पनि आफ्ना छोराहरू विदेशबाट जेनजी आन्दोलनका उम्मेदवारलाई मतदान गर्न दबाब दिइरहेको बताउनुभयो । “वडामा घुम्दा यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने माहोल चलेको स्पष्ट देखिन्छ,” उहाँले भन्नुभयो ।
सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बनेका बब्लु गुप्ताले पूर्वमन्त्रीसहित विभिन्न दलका उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा शिवशङ्कर यादव र क्षेत्र नम्बर ३ तथा ४ मा जेनजी आन्दोलन समर्थित उम्मेदवारहरूले प्रभावशाली नेताहरूसँग चुनावी टक्कर दिइरहेका छन् ।
माघ ५ गते मधेश आन्दोलनमा सहादत भएका सहिदहरूको सालिकमा माल्यार्पण गर्न रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लहान आएपछि जेनजी आन्दोलनमा आबद्ध युवाहरूको उत्साह थप बढेको अवकाशप्राप्त शिक्षक रामविहारी साह बताउनुहुन्छ । “यसपटकको निर्वाचनमा जेन–जी आन्दोलनका अगुवा उम्मेदवारप्रति मतदाताको झुकाव स्पष्ट देखिन्छ । सिरहामा परिवर्तनको लहरले पुराना दलका उम्मेदवारलाई चुनौती दिएको छ,” उहाँको भनाइ छ ।