सुलीकोट समाचारदाता
सुलीकोट, माघ १६ गते । लामो समयपछि हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ । चुमनुब्री गाउँपालिका अन्तर्गत साम्दो, सामागाउँ, ल्हो, स्याला चुम्चेत र छेकाम्पारमा हिमपात हुँदा यहाँका किसान खुसी भएका कुरा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।
चुमनुब्री गाउँपालिका–७ का पासाङफुन्जो लामाले उत्तरी गोरखामा हिमपात हुँदा स्थानीय खुसी भएको बताउनुभयो । हिमपात भएपछि खेती वृद्धि हुनुका साथै धुलो, धुवाँ, आगजनी नहुने भएकाले स्थानीय कृषक खुसी भएको उहाँको भनाइ छ । आगलागीको जोखिम घटेको छ । स्थानीय पासाङफुन्जो लामाले भन्नुभयो, “हिमपात भएपछि गाउँ नै शान्त भएको छ । मङ्सिरमा छरेको गहुँले पानी पाउनुका साथै उत्तरी गोरखाको वनजङ्गल हराभरा हुने भएको छ ।”
अहिले साम्दोलगायतका ठाउँमा एक फिटसम्म हिउँ जमेको छ । हिमपात भएसँगै गाउँको दैनिकी पनि फेरिएको स्थानीय दोर्जे लामाले बताउनुभयो । मानिस बाहिरी काम थाती राखेर घरभित्रै आगो तापेर समय बिताइरहेका छन् । बालबालिका हिउँसँग खेल्न पाउँदा खुसी भएका छन् भने ज्येष्ठ नागरिकले यसलाई प्राकृतिक वरदानका रूपमा लिएका छन् । सेतो हिउँले ढाकिएको छेकाम्पारसहित चुमनुब्रीका बस्ती अहिले रमणीय दृश्यमा परिणत भएका छन् भने लामो खडेरीपछिको हिमपातले खेती, वातावरण र जनजीवनमा सकारात्मक प्रभाव पार्ने स्थानीयले बताएका छन् ।
यसैबिच लमजुङ समाचारदाताका अनुसार हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । माथिल्लो मनाङको खाङसार, मनाङगाउँ, टङ्की मनाङगाउँ, घ्यारु, ङावललगायत गाउँ हिउँले ढाकिएका छन् । सदरमुकाम चामेआसपासमा पनि व्यापक हिमपात र हावा चलिरहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताउनुभयो । हिमपातबाट कुनै अप्रिय घटना नभए पनि विपत् निम्तिन सक्ने सम्भावनालाई हेरेर सुरक्षा सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।
हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सुरक्षा निकायले अन्नपूर्ण पदमार्गको थोरोङ्लाभन्ज्याङ पास गर्न पर्यटकलाई रोक लगाएको छ ।
मनाङमा यसअघि कात्तिक १० र ११ गते हिमपात भएको थियो । मङ्सिर र पुसमा हिउँ परेको थिएन । प्रहरीका अनुसार माथिल्लो मनाङमा डेढ फिट बाक्लो हिउँ परेको छ । चामेदेखि तल्लो भाग तिमाङ, दानक्यु र बगरछापमा हिमपातसहितको वर्षा भइरहेको स्थानीयले बताएका छन् । हिमपातले सरकारी कामकाज ठप्प भएको छ । हिमपातसँगै तीव्र गतिको हावा चलेपछि अत्यधिक चिसो बढेको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताउनुभयो । उहाँले अब खेती गर्ने बेला भएकाले किसान भने खुसी भएको बताउनुभयो ।
पहाडी जिल्ला लमजुङमा लामो समयपछि वर्षा भएको छ । बुधबार बिहानदेखि वर्षा भइरहेको छ । कात्तिकयता वर्षा हुन नसक्दा किसान चिन्तित भएका थिए । वर्षापछि किसान खुसी भएको मस्र्याङ्दी–९ का किसान भीष्मकान्त कुइँकेलले बताउनुभयो ।