• १६ माघ २०८२, शुक्रबार

नयाँ र पुराना उम्मेदवारबिच प्रतिस्पर्धा

blog

अस्मिता पोखरेल 

धादिङबेँसी, माघ १६ गते । अनुभवी नेता, चर्चित अनुहार र नयाँ राजनीतिक शक्तिको उपस्थितिले धादिङ निर्वाचन क्षेत्र नम्बर १ लाई मतदाताका लागि विशेष रोचक बनाएको छ । 

धादिङ–१ मा यस पटक कुल २३ जनाले उम्मेदवारी दिनुभएको छ । तीमध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पार्टीका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिनुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका राजेन्द्रप्रसाद पाण्डे यस क्षेत्रका अनुभवी नेता हुनुहन्छ । पाण्डेले आफूले धादिङ जिल्लामा धेरै विकास निर्माणका काम अघि बढाएको दाबी गर्नुभयो । उहाँका अनुसार आफ्नो पहिलो प्रतिबद्धता अधुरा सडक तथा विकास योजना पूरा गर्नु हो । उहाँले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलाशय आयोजना अन्तिम चरणमा पु¥याउन, धार्के–मुग्लिङ–गैँडाकोट सडक निर्माण गरेर राजधानी र बाहिर जाने आवागमन अवरुद्ध नहुने बनाउन र उत्तरी धादिङमा पर्यटन पूर्वाधार विकास, रोजगारी सिर्जना तथा जडीबुटी खेतीका योजना अघि बढाउने योजना रहेको बताउनुभयो । 

उहाँले सीतापाइलाबाट भीमढुङ्गा, काठमाडौँ प्रवेश गर्ने वैकल्पिक राजमार्गका रूपमा सीतापाइला–धार्के सडक निर्माण, मलेखुबाट चितवनको भण्डारासम्म जाने चेपाङ राजमार्ग निर्माण र गाउँ गाउँमा सडक निर्माण कार्यमा नेतृत्व गर्दै आएको बताउनुभयो ।  पाण्डेका अनुसार यही कारणले जनताले बारम्बार मत दिएका छन् र जनताको विश्वास र माया पाएको बताउनुभएको छ । 

पाण्डे एमाले हुँदै नेकपा एकीकृत समाजवादी र हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा सक्रिय हुनुहन्छ । पाण्डे यस क्षेत्रबाट विगतमा २०४८, २०५१, २०५६, २०७०, २०७९ मा सांसद र २०७४ मा प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भइसक्नुभएको छ । 

यसै गरी भूमि त्रिपाठी एमालेबाट उम्मेदवार बन्नुभएको छ । त्रिपाठीले आगामी निर्वाचनमा आफ्नो मुख्य एजेन्डा राष्ट्र सङ्कटको समाधान र संविधानको पुनर्जीवित गर्नु रहेको बताउनुभएको छ । त्रिपाठीका अनुसार विगतमा पार्टीले समृद्धि र सुशासनमा जोड दिएको भए पनि यस पटकको प्रमुख लक्ष्य राष्ट्र सङ्कटमा रहेको लोकतन्त्र र संविधानलाई कोमाबाट बाहिर ल्याएर बलियो बनाउन हो ।

उहाँले बताउनुभयो, “हालको सरकार असंवैधानिक छ र संविधानले यसलाई मान्यता दिएको छैन । हामी संवैधानिक सरकार स्थापना गरी लोकतन्त्र र संविधानलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ यो निर्वाचन लडिरहेका छौँ ।” उहाँले जनतासँगको निरन्तर सम्पर्क र पार्टीको सङ्गठनलाई पनि जितको आधार भएको बताउनुभएको छ ।  “जनता र एमाले भनेको पानी र माछा जस्तो हो, जनताबिना हाम्रो पार्टीको अस्तित्व छैन । विगतमा गरेका राम्रा काम मतदाताले देखिरहेका छन्,” त्रिपाठीले भन्नुभयो । त्रिपाठी २०७४ मा प्रतिनिधि सभामा निर्वाचित हुनुभयो तर २०७९ को निर्वाचनमा पाण्डेसँग पराजित हुनुभएको थियो । 

नेपाली कांग्रेसले यस क्षेत्रबाट अहिलेसम्म जित हासिल नगरेको पृष्ठभूमिमा युवा नेता कृष्ण रिजाल नयाँ अनुहारका रूपमा मैदानमा उत्रिनुभएको छ ।  पूर्व क्षेत्रीय सभापति तथा युवा नेता रिजाललाई बौद्धिक र शालीन नेताका रूपमा चिनिन्छ । रिजालले आफ्नो चुनावी एजेन्डा स्पष्ट गर्दै विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि अब हाम्रो पालो विकास र समृद्धिको हो । यस चुनावमा जेनजीबाट उठेको राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै हामीले नयाँ नेतृत्वमार्फत जनताको आकाङ्क्षा पूरा गर्ने योजना बनाएका छौँ ।” उहाँले भन्नुभयो, “राजधानीसँग नजिक रहेको धादिङ–१ मा विकास छिटो हुनु आवश्यक छ । सार्वजनिक संस्थालाई जवाफदेही बनाउँदै सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने मेरो मुख्य लक्ष्य हो ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सामाजिक सञ्जालमा सक्रिय आशिकाले राजनीतिक यात्राले मतदाताको विश्वास जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खुलै छ । प्रमुख दलबाहेक अन्य दलबाट पनि दर्जनौँ उम्मेदवार मैदानमा हुनुहुन्छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गीताप्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी (निसान), श्रम संस्कृति पार्टीबाट प्रह्लाद सिलवाल, नेसनल अर्गनाइजेसन पार्टीबाट रिन्छेन तामाङ (सुमन), उज्यालो नेपाल पार्टीबाट श्यामराज पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रादेवी वासुकला, संयुक्त नागरिक पार्टीबाट डम्बरबहादुर लिम्बू र आमजनता पार्टीबाट जाल्पादेवी रेग्मीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

स्वतन्त्र उम्मेदवारमा हरि भण्डारी, राजेश भट्टराई, निरञ्जन सन्जेल, धर्मराज नेपाल, दीपक तामाङ, तपन उप्रेतीलगायतका हुनुहन्छ । गत निर्वाचनको तथ्याङ्कले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ । धादिङ क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डेले ३५ हजार ९३४ मतसहित विजय हासिल गर्नुभएको थियो । पाण्डे अहिले नेकपाका उम्मेदवार हुनुहुन्छ । 

त्यही निर्वाचनमा भूमिप्रसाद त्रिपाठीले २७ हजार ९५३ मत ल्याउनुभएको थियो, जसमा पाण्डेको जित ७ हजार ९८१ मतान्तरले भएको थियो । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत प्राप्त गर्नुभएको थियो । धादिङ–१ मा छ वटा स्थानीय तह छन् । गत स्थानीय निर्वाचनमा धुनीबेँसीमा तत्कालीन नेकपा एस, थाँक्रे र गल्छीमा एमाले, गजुरी र बेनीघाट–रोराङमा तत्कालीन माओवादी केन्द्र र सिद्धलेकमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यसरी अनुभवी नेता, नयाँ अनुहार र वैकल्पिक शक्तिको मिश्रणले धादिङ–१ निर्वाचन क्षेत्रलाई यस पटक मतदाताका लागि अझ रोचक, प्रतिस्पर्धात्मक र विचारणीय बनाएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ६८६ जना मतदाता रहेका  छन् ।