सुर्खेत समाचारदाता
सुर्खेत, माघ १६ गते । कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनाएका राजनीतिक दलले सबै जसो नयाँ अनुहारका छन् । सुर्खेतको दुई वटा निर्वाचन क्षेत्रका लागि ३० जना उम्मेदवारले दर्ता गराएका छन् । जसमा अधिकांश नयाँ अनुहार छन् ।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत नयाँ दलले धेरै जसोलाई पहिलो पटक चुनावी मैदानमा उतारेका छन् । नेपाली कांग्रेसबाट क्षेत्र नं. १ मा विष्णुबहादुर खड्का र क्षेत्र नं. २ मा नारायण कोइरालालाई उम्मेदवार बनाएको छ । उहाँहरू दुवै जना नयाँ अनुहार हुनुहुन्छ । विगतमा क्षेत्र नं. १ मा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का उम्मेदवार बनेर जित्दै आउनुभएको थियो । यस पटक उहाँका कान्छा भाइ विष्णुबहादुर खड्का पहिलो पटक उम्मेदवार बन्नुभएको छ ।
यसै गरी क्षेत्र नं. २ मा नारायण कोइराला पहिलो पटक संसदीय चुनावको अनुभव हासिल गर्दै हुनुहुन्छ । पाँच पटकदेखि उम्मेदवार बनेर जित्दै आउनुभएका कांग्रेसका पूर्वमन्त्री हृदयराम थानी स्वास्थ्य समस्याका कारण यस पटक निर्वाचनमा नउठ्ने भनेपछि नारायण कोइरालाले उम्मेदवार बन्ने मौका पाउनुभएको हो । उहाँ विगतमा यसरी चुनाव लड्ने मौका पाउनुभएको थिएन ।
यस्तै एमालेबाट क्षेत्र नं. २ मा जिल्ला अध्यक्ष कुलमणि देवकोटा पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । खानेपानी संस्थामा चुनाव लडेर जितेको अनुभव रहेको उहाँमा संसदीय चुनावमा पहिलो पटक लड्दै हुनुहुन्छ । विगतमा यो क्षेत्रमा एमालेबाट कर्णालीका मुख्यमन्त्री एवं एमाले सचिव यामलाल कँडेल चुनाव लड्दै आउनुभएको थियो तर क्षेत्र नं. १ मा भने धु्रवकुमार शाहीलाई एमालेले तेस्रो पटक चुनावी मैदानमा उतारेको छ । एक पटक जित र एक पटक हार भोग्नुभएका शाहीलाई यस पटक पुनः पार्टीले शाहीलाई उम्मेदवार बनाएको छ । विगतका निर्वाचनमा उहाँ कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्कासँग चुनाव लडेको अनुभव छ ।
यसै गरी नेपाली कम्युनिस्ट पार्टीले यस पटक नयाँ अनुहारलाई छानेको छ । क्षेत्र नं. १ बाट जितबहादुर राना र क्षेत्र नं. २ बाट झकबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । राना पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ भने मल्ल सशस्त्र द्वन्द्वकालमा सुर्खेतको जेलब्रेक गरेर बाहिरिनुभएको थियो । दुवै जना युवा हुनुहुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । क्षेत्र नं. १ मा टेकबहादुर सिंह र क्षेत्र नं. २ मा रमेश सापकोटालाई उम्मेदवार बनाएको छ ।
कांग्रेस सुर्खेतको जिल्ला सचिव र उपसभापति भइसकेका सिंह तीन महिनाअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । उहाँसँग एक पटक प्रदेश सभा सदस्यको उम्मेदवार भई झिनो मतले पराजित हुनुभएको थियो । रास्वपा प्रवेश गरेपछि सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधि सभा उम्मेदवार बन्ने मौका उहाँले पाउनुभएको छ भने क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएका सापकोटा नेपाली कांग्रेस वीरेन्द्रनगर नगरसमितिको सचिव हुनुहुन्थ्यो । उहाँ पहिलो पटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ । अन्य साना दल तथा नयाँ पार्टीले पनि नयाँ अनुहारलाई नै यस पटकको निर्वाचनमा उम्मेदवार बनाएका छन् ।
कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले यस पटकको निर्वाचनमा कांग्रेसले नयाँ र युवालाई अगाडि सारेको बताउनुभयो । उहाँले कांग्रेससहित अन्य दलले पनि युवालाई प्राथमिकता दिएको हुँदा यस पटकको निर्वाचन युवामय हुने जानकारी दिनुभयो ।