• १६ माघ २०८२, शुक्रबार

चिसोका कारण मतदान स्थलका प्रहरीलाई सारियो सदरमुकाम

blog

ललित बसेल

सुर्खेत, माघ १६ गते । कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्लाका २० वटा मतदान स्थल सुरक्षा गर्ने प्रहरी जिल्ला सदरमुकाम सारिएका छन् । अत्यधिक चिसो र हिमपातका कारण बस्न सक्ने अवस्था नभएपछि त्यहाँका प्रहरीलाई नजिकै रहेको अर्को प्रहरी युनिट तथा सदरमुकाम सारिएको हो । फागुन लागेपछि मात्रै उनीहरू आफ्नो कार्यक्षेत्र जान सक्ने छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष गरी डोल्पा, हुम्ला र मुगुका २० वटा मतदान स्थल सुरक्षा गर्ने नौ वटा प्रहरी युनिट सदरमुकाम सारिएको छ । ती २० वटा मतदान स्थलका करिब चार हजार तीन सय मतदाता छन् । आगामी फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउनका लागि ती हिमाली मतदान स्थलबारे केन्द्रले निर्णय गर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाले बताउनुभयो । 

माघको महिनामा दुई पटक हिमपात भइसकेको हुँदा अत्यधिक चिसो र हिमपातले नौ वटा प्रहरी युनिट त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले जिल्ला सदरमुकाम वा नजिकको प्रहरी युनिटमा हाललाई मर्ज गरिएको जानकारी उहाँले दिनुभयो । आफूहरूले त्यहाँको अवस्थाबारे केन्द्रमा जानकारी गराइसकेको हुँदा निर्वाचनमा के गर्ने भन्ने जवाफको प्रतीक्षामा आफूहरू रहेको उहाँको भनाइ छ । 

उहाँले फागुन २१ गतेको निर्वाचनमा ध्यानमा राख्दै सुरक्षा अवस्था मजबुत बनाउन लागिपरेको बताउनुभयो । प्रहरी कार्यालयमा जनशक्तिको १० प्रतिशत मात्रै प्रहरीहरू राखेर अरू सबै निर्वाचनमा खटाइने उहाँले बताउनुभयो । कर्णालीमा करिब नौ हजारभन्दा बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने उहाँको भनाइ छ । तराईतिरभन्दा कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती भए पनि प्रहरीले मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदान स्थलको सुरक्षा पूर्ण रूपमा दिने दाबी डिआइजी सापकोटाले गर्नुभयो । कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन् भने प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन् । कर्णालीमा छ सयभन्दा बढी प्रहरी जनशक्ति अपुग भएकाले त्यसको पूर्ति गर्न केन्द्रसँग माग गरिएको जानकारी उहाँले दिनुभयो । 

भर्खरै कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भई आउनुभएका डिआइजी सापकोटाले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि सबैलाई अपिल गर्नुभएको छ । उहाँले निर्वाचन आचारसंहिता लागु भइसकेकोले राजनीतिक दल, सञ्चार माध्यम र सञ्चारकर्मी, कर्मचारीलगायत सबैले पूर्ण रूपमा पालना गरी निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो । यसैबिच प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी कार्यक्रममा सबैले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले निर्वाचन सबैको साझा दायित्व भएकाले प्रविधिको दुरुपयोग रोकी यसको सही प्रयोगबाट आचारसंहिता पालना गर्न र गराउन सहज हुने बताउनुभयो । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वरप्रसाद उपाध्याय, सुर्खेत क्षेत्र नं. १ का निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले शान्तिसुरक्षा, निर्वाचन आचारसंहिताको पालना, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाउनुभयो । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तथा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक दीपक ढकालले कसैप्रति विभेद नगरी आचारसंहिता पालना गराउने र सोको उल्लङ्घन भए कानुनबमोजिम कारबाही गर्ने बताउनुभयो ।