• १६ माघ २०८२, शुक्रबार

लमजुङमा मतदानस्थलको अनुगमन

blog

लमजुङको सुन्दरबजार नगरपालिकामा मतदान स्थल अनुगमन गर्दै सुरक्षा टोली । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल 

लमजुङ, माघ १६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा मतदानस्थल र सुरक्षाका लागि अनुगमन कार्य तीव्र बनाइएको छ । सुरक्षा समिति लमजुङले जिल्लाका मतदान स्थलहरुको अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गानाको नेतृत्वमा सुरक्षा टोलीले जिल्लाका विभिन्न स्थानीय तहहरुमा पुगेर मतदान स्थल एवं केन्द्रहरुको स्थलगत अनुगमन गरेको हो । निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापनको तयारीका लागि मन्त्रालयबाट आएको परिपत्रअनुसार मतदान केन्द्रको अनुगमन गरिएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले बताउनुभयो ।

सुरक्षा समितिले मध्यनेपाल नगरपालिका, क्व्होलासोँथार गाउँपालिका, दुधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाअन्तर्गतका धेरैजसो मतदान स्थलहरुमा निरीक्षण गरेको छ । टोलीले मतदान स्थलहरुमा पुगेर विगतमा भएका निर्वाचन गतिविधिहरुको बारेमा जानकारी लिने तथा थप व्यवस्थापनका लागि आवश्यक छलफल गरेको जनाएको छ । मतदान स्थलको अनुगमनबाट सुरक्षाअवस्थाको रणनीति व्यवस्थित बनाउन सजिलो हुने सुरक्षा समिति लमजुङले जनाएको छ ।

सुरक्षा समितिले पछिल्लो निर्वाचनको आधार र त्यसपछिको अवस्था अध्ययन गरी सुरक्षाका हिसाबले प्राथमिकीकरण गरिसकेको छ । गत निर्वाचन शान्तिपूर्ण भएको र आगामी निर्वाचनलाई पनि शान्तिपूर्ण र सभ्य बनाउने सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ ।

लमजुङमा ३० मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहेका छन् । सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गिकरण गरिएको छ । जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा लमजुङमा ३० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

त्यसैगरी ७७ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । २३ मतदानस्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ । मतदान केन्द्र र स्थलहरूको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन हुनेछन् । पहिलो घेरामा निर्वाचन सुरक्षा प्रहरी, गुप्तचर, नेपाल प्रहरी खटिनेछन् । त्यसभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुनेछ ।