• १६ माघ २०८२, शुक्रबार

मोटरसाइल लुटपाट र चोरी घटनामा संलग्न तीन पक्राउ

blog

अजय शाह
गौशाला (महोत्तरी), माघ १६ गते ।
महोत्तरीमा मोटर साइकल लुटपाट र चोरी घटनामा संलग्न तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–१२ प्रडियामा मोटरसाइकल र मोबाइल लुटपाट घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–१२ बस्ने १८ वर्षीय निर्मल साह सोनार १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष राम रहेका छन् ।

बुधबार राति करिब साढे ८ बजे गौशाला–१२ का स्थायी बासिन्दा विषेश्वर सिंह कुशवाहा ज ५ प ४३२४ नम्बरको डिस्कोभर मोटरसाइकलमा घर फर्किंदै गर्दा सुनसान स्थानमा यी तीनै जना युवाहरुले बाटो छेकी मोटरसाइकल रोकेर पछाडिबाट फलामको रड प्रहार गरेका थिए । अचानक भएको आक्रमणबाट कुशवाहा गम्भीर घाइते भई सडकमा बेहोस भए ढल्नु भएको थियो ।

आक्रमणपछि लुटेराहरूले कुशवाहाको मोटरसाइकल र एक थान मोबाइल फोन लुटी फरार भएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला मातहत प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।

खोजतलासका क्रममा विहिवार गौशाला नगरपालिका–१२ र सर्लाही जिल्लाको सिमानामा रहेको जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमाा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते कुशवाहाको उपचार भइरहेको छ।घटनापछि गौशाला क्षेत्रमा रात्रीकालीन सुरक्षाप्रति चिन्ता बढेको भन्दै स्थानीयवासीले प्रहरी गस्ती थप प्रभावकारी बनाउन माग गरेका छन् ।