• १६ माघ २०८२, शुक्रबार

सहिदको सपना

blog

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए

बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।

                      –भूपी शेरचन

आज सहिद दिवस । विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा विविध कार्यक्रमका साथ देशभर सहिद दिवस मनाइने परम्परा छ । यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइने सहिद दिवसको आज मुख्य दिन हो । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदहरूको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति गरेका सहिदहरूको विशेष सम्झना गरिने दिनका रूपमा सहिद दिवसलाई लिइन्छ । प्रजातन्त्र, स्वतन्त्रता र नागरिक अधिकार माग गर्दा विसं १९९७ मा नेपाल आमाका वीर सपुतहरू शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । सहिदको सूचीमा नेपालको पहिलो सहिद भनेर लखन थापालाई लिइने गरिन्छ । सहिदहरूलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि उनीहरूले देखेको सपना पूरा गर्ने गरी मुलुकमा काम भएको छैन । देश र जनताको हितखातिर मृत्युवरण गर्ने यस्ता नरनारी सहिद हुन्, जसको नाम लिँदा नै श्रद्धाले शिर झुक्छ । 


विसं १८९१ मा गोरखामा जन्मेका प्रथम सहिद थापालाई विसं १९३३ फागुन २ गते मनकामना मन्दिरअगाडि फाँसी दिइएको थियो । उनलाई राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको आदेशमा फाँसी दिइएको थियो । पल्टनका लाहुरे थापाले जङ्गबहादुरको विरुद्धमा प्रचारबाजी गरेको आरोपमा रुखमा झुन्ड्याएर मारिएको थियो । २००७ देखि हालसम्म नेपालको प्रजातान्त्रिक आन्दोलन, वाम आन्दोलन, राजतन्त्रविरुद्धको आन्दोलन र पछिल्लो जेनजी पुस्ताको आन्दोलनसम्म आइपुग्दा हजारौँ जना सहिद भएका छन् । पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्रका लागि आवाज उठाउने देशभक्तहरू भीमदत्त पन्त, दुर्गानन्द झा, रत्नकुमार बान्तवा, यज्ञबहादुर थापा पनि सहिद हुन पुगे । पञ्चायतविरोधी आरोपमा इलामको सुखानी हत्याकाण्ड, छिन्ताङ काण्ड, भिमान काण्ड, पिस्कर काण्ड, जुगेडी काण्ड, म्याग्दीको सिङ काण्ड, सुर्खेत काण्डमा हत्या गरिएका वीर योद्धाहरू पनि सहिद भए । त्यस्तै २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको पञ्चायतविरोधी आन्दोलनका क्रममा जीवन अर्पण गर्नेहरू पनि सहिद हुन पुगे । २०५२ साल फागुन १ गतेदेखि २०६२ सालसम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्र विद्रोहका क्रममा दसौँ हजार व्यक्तिले जीवन उत्सर्ग गरे । २०६२/६३ सालको जनआन्दोलन, मधेश आन्दोलनका क्रममा पनि धेरै जना सहिद भए । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था, राजतन्त्रविरुद्धका आन्दोलन, दसबर्से सशस्त्र विद्रोह, मधेश आन्दोलन तथा पछिल्लो नवयुवा (जेनजी) पुस्ताले आन्दोलनमा जीवन अर्पण गरेका महान् सहिदहरूको सूची निकै लामो छ । कवि भूपी शेरचनले ‘दुई/चार सपुत नमरी मुलुक बन्दैन’ भनेका थिए तर हाम्रो देशमा दुई/चार जना मात्र होइन, हजारौँ सपुत मरिसके तर ती सपुतहरूले देखेको सपना र बनाउन खोजेको जस्तो मुलुक बन्न सकेन । 


मुलुकमा ठुला ठुला राजनीतिक आन्दोलन/परिवर्तन भए । निरङ्कुश सत्ता र सरकार फेरिए । सरकार सञ्चालन गर्ने व्यक्तिहरू पनि फेरिए । मुलुक अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो उत्कृष्ट ठानिएको व्यवस्थाको अभ्यासमा छ । यद्यपि सहिदहरूले देखेका समृद्ध र शान्त देश निर्माणका सुन्दर सपना अधुरै छन्, अपूरै छन् । मुलुकमा शासक फेरिए । सरकार सञ्चालन गर्नेहरू बदलिए तर संस्कार फेरिएन । आचरण र व्यवहार फेरिएन । आज लेख्ने, बोल्ने, सभा, सङ्गठन गर्ने, राजनीतिक दल खोल्ने, दलीय प्रतिस्पर्धाका आधारमा राजनीति गर्ने, जनताका छोराछोरी राष्ट्रपतिदेखि प्रधानमन्त्री बन्ने अधिकार प्राप्त छ तर मुलुकको सामाजिक र आर्थिक अवस्था कमजोर छ । पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकिएन । उद्योगधन्धा, कलकारखानाको कमी भयो । देशभित्रै उचित रोजगारी र शैक्षिक व्यवस्था नभएका कारण लाखौँ युवा विदेश पलायन भइरहेका छन् । मुलुक चलाउन विप्रेषणमा भर पर्नु परेको छ । पुँजी, जनशक्ति र प्रतिभा पलायनले मुलुक चरम अप्ठेरो अवस्थामा छ । स्वदेशी र विदेशी ऋण २८ खर्ब रुपियाँभन्दा बढी भइसक्यो । चरम भ्रष्टाचार, तस्करी, कालोबजारी, कमिसन र माफियातन्त्रले मुलुकलाई पिरोलेको छ । अतः यो पीडालाई सबैले आत्मसात् गरी भ्रष्टाचारमुक्त, सुशासन, शान्ति र समृद्धिसहितको नेपाल निर्माणमा योगदान गरौँ, यही कर्मले मात्र सहिदहरूको सम्मान हुने छ ।