• १६ माघ २०८२, शुक्रबार

सहिदप्रतिको नैतिक दायित्व

blog

बृहत् नेपाली शब्दकोश दसौँ संस्करण २०७५ मा सहिदलाई ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ का रूपमा चिनाइएको छ । सहिद दिवसको अर्थ ‘सहिदको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली प्रकट गरिने विशेष दिन’ भनिएको छ । 

सहिद हाम्रा मस्तिष्क, जीवनचर्या, आत्मा, प्राण तथा मुटुका धमनी हुन् । उनीहरूका मनमा सकारात्मक सोच, चिन्तन, विश्वास र भविष्यप्रति आशावादिता नजन्मेका भए हामीले यो स्वतन्त्रता उपभोग गर्न पाउने थिएनौँ । उनीहरूमा दया, माया, करूणा, प्रेम, सद्भाव, उदारता, देशभक्ति तथा बलिदानी भाव भएका कारण स्वतन्त्रता उपभोग गर्न सफल भएका हौँ । उनीहरूले आफू र आफ्नो घर–परिवार न बिर्सेका भए यो स्थिति आउने थिएन । तिनले देशका लागि आफ्नो घेरोको सेरोफेरो बिर्सिएकाले एकतन्त्री शासनबाट मुक्त भयौँ । बहुसङ्ख्यक जनताले नगरेको आँट–साहस अल्पसङ्ख्यकले गरेर देखाए । त्यही कारण मृत्युवरण गर्नु प¥यो । देश र जनताको नाममा मृत्युवरण गर्नु सामान्य रूपमा लिए । 

जन्म–मृत्यु सांसारिक नियम हुन् । यही नियमको परिधिभित्र संसार चलिरहेको छ । मानिस मात्र नभएर जन्तु–जनावर, चराचर जगत, बोटबिरुवा सबैले एक न एक दिन मृत्युवर गर्नै पर्छ । यसलाई कंसले रोक्न–छेक्न सकेको छैन । सबैले पालना गरिरहेका छन् । जतिसुकै माया ममता रहे पनि सबैले ढिलो चाँडो संसार त्याग्नै पर्छ । त्याग्दिन भन्नेहरू कोही सफल भएका छैनन् । सबैले असफलता बेहोरेका छन् । यो यथार्थ बुझेका वा आत्मसात् गरेका समाज तथा देशका लागि केही न केही योगदान गर्नु नैतिक उत्तरदायित्व भएको सम्झन्छन् । २०९७ सालमा चार सहिदले गरेको बलिदानले पूरै देश हल्लाएको थियो । परिवर्तनका पक्षधरलाई अगाडि बढ्न प्रेरणा मिलेको थियो । 

देशलाई मन मुटुमा राखेर हिँड्नेका लागि व्यक्तिगतदेखि पारिवारिकसम्मका काम गौण हुन्छन् । अगाडि उज्यालो संसार हुन्छ । अर्को कल्पना नै हुँदैन । खोजीमा मन वचन र कर्म लाग्छन् । तिनीहरूको उद्देश्य आनन्दको खोजी हुन्छ । मानिस खुुसी र सुखी भएर बाँचुन मस्तिष्कमा भाव खेलिरहेका हुन्छन् । घर, परिवार, आफन्त र नातागोताको चौघेरोबाट बाहिर आउनेले यस्ता कुरा सोच्न सक्छन् । आगोको झिल्को र बत्ती सानै हुन्छन् तर महत्व ठुलो हुन्छ । व्यक्तिगत सुख सुविधा छाडी बहुजन हिताय, बहुजन सुखाय भन्नेहरूको सङ्ख्या पनि सानै हुन्छ । तिनीहरूको महìव ठुलो छ । सहिदको कोटी त्यही हो । ती कहिल्यै मर्दैनन् । अमर हुन्छन् । देश र जनताको  हितमा आफूलाई समर्पण गरेका कारण ती बर्सौं वर्ष जीवित रहन्छन् । 

व्यक्तिगत लोभलालचमा फसेका तथा सानो स्वार्थका लागि मरिमेट्ने माथि पुग्न सक्दैनन् । सधैँभरि जहाँको त्यहीँ र जस्ताको त्यस्तै रहन्छन् । व्यक्तिगत वा पारिवारिक सुख सुविधामा रमाउने देशका जिम्मेवार नागरिक बन्न सक्दैनन् । जिम्मेवार नागरिक बन्न मुलुकका लागि हैसियतले भ्याएसम्म योगदान दिनु पर्छ । आफूले लिन मात्र खोज्ने दिन नखोज्नेहरू असल र विवेकयुक्त नागरिक हुन सक्दैनन् । देशप्रति कर्तव्य र उत्तरदायित्व सम्झने मात्र असल नागरिकको कोटीमा पर्न सक्छन् । सहिद असल नागरिकभन्दा पनि माथिल्लो कोटीमा पर्छन् । अगाडि व्यक्तिगत सुख सुविधा, ऐस, आराम र मोजमज्जा गौण हुन्छन् । सामूहिक भावमा विश्वास गर्छन् । विश्वबन्धुत्व तथा भाइचाराको भावमा  आफूलाई समर्पण गर्छन् । 

छातीमा ठुलो उत्साह, साहस, हौसला, जोस, जाँगर र आँट हुन्छ । यथा समयमा आगोका मुस्ला बनेर निस्कन्छन् । ठुलै सङ्ख्या रहे पनि आँटिला काम गर्न नसकिरहेकाको अनुहार तिनीहरूका अगाडि फिका हुन्छ । आँटिलाहरूले तिनीहरूलाई राप र तापबाट बाहिर निकाल्छन् । तिनीहरूको ज्यान जाने सम्भावना रहे पनि  कुनै परवाह गर्दैनन् । आमजनताको नाममा ज्यानको आहुति दिन्छन् । तिनीहरूका आँखामा देश एउटा घरपरिवार सरह हुन्छ । अन्योलता बोकिरहेकाको मन मस्तिष्कमा खुसी र उत्साहको बिरुवा उमारेर गोडमेल गर्नु नैतिकदायित्व सम्झन्छन् । आफू, आफ्नो घर, परिवार र आफन्तभन्दा आमजनताको मुक्ति तथा देशलाई ठुलो मानेकाको व्यवहार यस्तै हुन्छ । बाँच्ने आमआधारभन्दा माथि उठेर समाज परिवर्तन र देश विकासको सपना मनमा सजाउनेसँग यही भाव हुन्छ ।     

आमजनताको खुसी र भलाइका निम्ति आफूलाई बिर्सिएर बलिबेदीमा होमिने सहिद हुन् । तिनीहरूले देश र जनताका निम्ति देखेको सपनाकै कारण हाम्रो बाटो बदलिएको हो । उनीहरू आफू र आफ्नो भनेर बसेका भए परिवर्तन सम्भव थिएन । परिवर्तनको अर्थ यथास्थितिको बाटोबाट मुक्त भएर नयाँ गन्तव्य खोज्नु हो । सहिदहरूले यथास्थिति त्यागेर परिवर्तन खोजे । नयाँबाटो हिँड्ने अठोट गरे । क्रान्तिमा होमिए । क्रान्ति परिवर्तनको संवाहक हो । बलिदानबिना कान्ति सम्भव छैन । संसारकै रीत यही हो । सपना बहुसङ्ख्यकका लागि हुनु आवश्यक छ । सपना देख्नेहरू धेरैले परिवर्तन उपभोग गर्न पाउँदैनन् । लड्दालड्दै उनीहरूको ज्यान गइसकेको हुन्छ । 

उपभोग गर्न पाइँदैन भन्ने जान्दाजान्दै पनि बलिदानीहरू क्रान्तिमा होमिन्छन् । उनीहरूका अगाडि परिवर्तनको चाहभन्दा बढी केही हुँदैन । सुख, समृद्धि र शान्ति मात्र हुन्छ । उनीहरूले सपना नदेखेका भए पुराना बाटाले निरन्तरता पाइरहन्थ्यो । त्यसको अर्थ अन्धकार मात्र हुन्छ । पक्कै हो, अँध्यारोबाट उज्यालोतिर जान सहज छैन । अँध्याराका पक्षपातीहरू सधैँ अँध्यारै होओस् भन्ने चाहन्छन् । उज्यालोका पक्षपातीलाई यो सुपाच्य लाग्दैन । ती अँध्याराको विपक्षमा आफू मात्र उठ्दैनन् अरूलाई पनि उठ्न अभिप्रेरित गरिहन्छन् । पक्कै हो ती नउठिदिएको भए सम्भवतः हामीले अँध्यारोमै अलमलिइरहनुपर्ने थियो । 

सहिदको गुन तिरेर कहिल्यै सकिँदैन । उनीहरूका त्याग र बलिदानको मूल्य हाम्रो शिर माथि छ । हामीले उनीहरूका गुन तिर्न देश र समाजको भलो हुने काम गर्नु पर्छ । आफ्नो काम त कसले गरेको छैन र ? गरेका छन् । व्यक्तिगत कामले सहिदको गुन तिरिँदैन । हामी धेरैको हित हुने काम गरेका कारण ती सहिद बनेका हुन् । हामीले सामूहिक भलाइ र देशको उन्नतिका निम्ति काम ग¥यौँ गरे सहिदको गुन तिर्न सकिन्छ । अन्यथा त्यो ऋण सधैँ हाम्रो टाउकामा रहिरन्छ । काम यो वा त्यो भन्ने हुँदैन । बहुजन हिताय र बहुजन सुखायको मूल मन्त्रका साथ अगाडि बढे सहिदहरूको सपना पूरा हुन्छ । यथार्थ वा सत्य यही हो । सबैका हैसियत क्षमता एउटै हुँदैन । क्षमता र औकात अनुसार केही न केही गरिरहनु पर्छ । सहिदहरूले हाम्रा खुसी, हर्ष, उमङ्ग, हौसला, जोस र जाँगर समर्पण गरेर गए । यस कारण उनीहरूलाई बिर्सन हुँदैन । सम्झौँ त, हाम्रा लागि घर परिवार त्यागे, नाता कुटुम्ब बिर्से, आफन्तका माया ममता भूले । हामीलाई उज्यालो दिलाउनु कर्तव्य ठाने । त्यस्ताहरूका लागि हामीले के ग¥यौँ ? मुलुक सपार्न कति समय खर्च ग¥यो ? यी अत्यन्तै मननीय प्रश्न हुन् । यस्ता प्रश्नको उत्तर खोजेर कर्म पथमा समर्पित हुनु अति आवश्यक छ । 

हामी हरेक वर्ष माघ १० देखि माघ १६ सम्म सहिद सप्ताह मनाउँछौँ । यो साता १९९७ सालमा मारिएका सहिदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, शुव्रmराज शास्त्री र गङ्गालाललाई विशेष रूपमा सम्झना गर्छौं । विभिन्न समयमा सहिद भएका ज्ञात/अज्ञात सहिदहरूलाई पनि स्मरण गरिन्छ । सहिद दिवस मनाउने परम्परा आरम्भ भएको लामै समय बितिसकेको छ । सहिदहरू जे जे सपना बोकेर बलिवेदीमा होमिएका थिए, तिनीहरूका ती सपना पूरा भए त ? यो गम्भीर प्रश्न हो । हामी उनीहरूका सपना पूरा गर्नतिर लागेका छौँ त ? यो अझ अर्को मार्मिक प्रश्न हो । यो र यस्ता अनेकौँ प्रश्न ओझेलमा छन् । उनीहरू बलिवेदीमा चढेका कारण देशमा परिवर्तन भयो । हामी उनीहरूका सपना पूरा गर्नतिर लाग्यौँ कि लागेनौँ ? सोच्ने बेला आइसकेको छ । नलागेका भए यथाशीघ्र त्यता तन र मन जानु अति आवश्यक छ । 

अहिलेको बलवान् प्रश्न नैतिकता र उत्तरदायित्वको खोजी हो । कतै हामी यी कुरामा चुकेका त छैनौँ ?  यी र यस्ता प्रश्नका उत्तर खोज्नतिर लाग्नु आवश्यक छ । के थिए उनीहरूका सपना ? के का लागि बलिवेदीमा चढे ? घरपरिवार र नाता कुटुम्बभन्दा देशको स्वतन्त्रता र मुक्ति ठुलो मान्नुको कारण के होला ? गम्भीर बनेर सोधखोज गर्नु आवश्यक छ । हिजोदेखि आजसम्म हाम्रो ध्यान त्यता जान नसकेका कारण परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको हो । यस्ता कुराले हामीलाई कहाँ पु¥याउँछ ? यो भन्न सकिने अवस्था छैन । हिजो परिवर्तनका लागि जीवन समर्पण गरेका कारण सहिद भएकाहरूका परिवार आज कस्तो अवस्थामा छन् । उनीहरू पेटका लागी आँसु बगाएर भौँतारिइरहेका त छैनन् ? हाम्रो ध्यान त्यतातिर जानु आवश्यक छ । हाम्रा लागि प्राण त्याग्ने सहिद परिवारको पहिचान गरी उनीहरूको आवश्यकता बुझेर समस्या समाधान गर्नु हाम्रो नैतिक उत्तरदायित्व पनि हो । 

सहिदका मनमा सपना थिए । सपनाकै कारण ती सहिद बनेका हुन् । सपना नहुनेहरू सहिद बन्न सक्दैनन् । आज हामी हामीलाई आजाद गराउने सहिदहरूलाई बिस्तारै बिर्संदै गइरहेका त छैनौँ ? तथापि आफू चाहिँ उनीहरूले दिलाएको आजादी भरपूर उपयोग गरिरहेछौँ । सहिदका सपना हाम्रा मन मस्तिष्कबाट टाढाटाढा बन्न थालेका छन् । उनीहरूका वास्तविक आकाङ्क्षातिर ध्यान पुग्न सकिरहेको छैन । सहिदका सपना पूरा गराउने नैतिक दायित्वबाट पर पर हुन थालेका त हैनौँ ? समाजमा बहस चल्न थालेको छ । यतातिर ध्यान नदिनुको अर्थ सहिदलाई भुल्नु वा हिजोको बलिदान बिर्सनु हुन्छ । त्यो त्याग, बलिदान र समर्पण बिर्सेर अगाडि बढ्न सकिँदैन । यसर्थ यतातिर ध्यान दिनु अति आवश्यक छ । आफू सहिद बनेर हामी सबैलाई उज्यालो देखाउनेहरूको सपना पूरा गर्नतिर लाग्नु हाम्रो हो । सहिदको सपना पूरा गर्न गराउनुतिर लाग्नु हाम्रो कर्तव्य र नैतिक दायित्व पनि हो ।