• १६ माघ २०८२, शुक्रबार

निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवादमा

blog

यमुनामाई गाउँपालिका

यादवराज पुरी
रौतहट, माघ १६ गते ।
यमुनामाई गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्ति दिएको विषयमा विवाद उत्पन्न भएको छ । गाउँपालिका प्रमुख महमद सउदले कविराज रामश्रेष्ठ राययादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने प्रयासमा जालसाजी गरेको आरोप लागेकोले विवाद उत्पन्न भएको हो ।

गाउँपालिका प्रमुख सउदले कविराज यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वत्र चासोको विषय बनेको उक्त पत्र किर्ते रहेको र चलानी नम्बर समेत दोहोरिएको आरोप लागेको छ ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालसँग जिज्ञासा राख्दा उहाँले ती पत्रहरू पूर्णरूपमा किर्ते रहेको दाबी गर्नुभएको छ । उहाँकाअनुसार पत्रमा उल्लेखित चलानी नम्बर दोहोरिएको (कार्यालयको अन्य पत्रमा उल्लेख भइसकेको) पाइएकोले तत् सम्बन्धमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पाल भन्नुहुन्छ, “मिति २०८२ पुस ५ गते कार्यालय बाहिर बोलाइएको भनिएको कार्यपालिका बैठकबारे आफूलाई कुनै जानकारी नभएको तर बैठकबाट अघिल्ला समयमा पटक–पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएका कविराज रामश्रेष्ठलाई पुनः जिम्मेवारी दिने निर्णय गरिएको छ । उक्त निर्णयका आधारमा प.सं. ०८२/०८३, च.नं. ४५९, मिति २०८२/०९/०९ मा आर्थिक प्रशासन शाखाका लागि श्रेस्ता उपलब्ध गराउने विषयमा पत्र चलानी भइसकेको अभिलेखमा देखिन्छ । सोही मिति र चलानी नम्बर प्रयोग गरी कविराज रामश्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गर्दै मन्त्रालयमा अर्को पत्र पठाएको पाइएकोले पालिकाले जालसाजी गरेको देखिन्छ । यस विषयमा हालसम्म सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान सुरु भएको भने छैन ।”

यस सन्दर्भमा गाउँपालिकाका प्रमुख सउदले किर्ते सिफारिस र बैठकसम्बन्धी आरोपको खण्डन गर्नुभएको छ । उपयुक्त आरोप मित्थ्या रहेको दाबी गर्नुहुँदै उहाँले प्रमुख प्रशासकीय अधिकृत पाललाई आमनेसामने भई छलफल गर्न चुनौती दिनुभएको छ । 
यमुनामाई गाउँपालिका ।