• १६ माघ २०८२, शुक्रबार

६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

blog

आश्रमका बृद्धबृद्धाको स्वास्थ्य परीक्षण गर्दै लुम्बिनी प्रहरी अस्पतालका चिकित्सक । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १५ गते । सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्जले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी अस्पतालको सहयोगमा मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।  

मानवीय सेवालाई प्राथमिकता दिंदै नेपालगन्जस्थित मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोशीले बताउनुभयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा. अच्युतविक्रम हमालको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले आश्रममै पुगेर त्यहाँ आश्रित ६० जना सहाराविहीनको स्वास्थ्य परीक्षण गरेको हो ।

सो स्वास्थ्य शिविरमार्फत सडकबाट उद्धार गरिएका ६० जना नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । डा. हमालको नेतृत्वमा रहेको टोलीमा प्राविधिकतर्फ प्रहरी हवल्दार सुमन खड्का, मुकेशकुमार शुक्ला तथा प्रहरी जवान कलमवीर चौधरी सहभागी हुनुहुन्थ्यो । 

टोलीले आश्रममा रहेका नागरिकको मधुमेह, रक्तचाप परीक्षणसहित सामान्य स्वास्थ्य जाँच तथा आवश्यक परामर्श प्रदानका साथै औषधी पनि वितरण गरेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा. हमालले बताउनुभयो । 

सडकबाट बेवारिसे अवस्थामा उद्धार गरिएका तथा हाल आश्रममा आश्रय लिइरहेका नागरिकको स्वास्थ्य अवस्था पहिचान गरी समयमै उपचार पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्जका अध्यक्ष जोशीले बताउनुभयो ।

स्वाथ्य परीक्षणका क्रममा जटिल समस्या देखिएका व्यक्तिलाई लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा पुनः जाँच गराउनु पर्ने सुझाव दिइएको डा. हमालले बताउनुभयो । स्वास्थ्य परीक्षण कार्यक्रम अति नै महत्वपूर्ण हुने भएकाले सडकबाट उद्धार गरिएका नागरिकको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने मानवसेवा आश्रम नेपालगन्जका संयोजक उरविन सापकोटाले बताउनुभयो ।

कार्यक्रममा प्रहरी निरीक्षक जिवराज थापा (क्षेत्री), प्रहरी सहायक निरीक्षक अमित पौडेल, प्रहरी सहायक हवल्दार अनिता सुनार तथा प्रहरी जवान रत्नबहादुर बि.क., सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव बिबेककुमार श्रेष्ठ, सह–सचिव रामप्यारे वर्मा, भेरी एफएमका प्रमुख तथा सामुदायिक प्रहरी सेवा केन्द्रका आजीवन सदस्य मोहम्मद आरिफ अन्सारी, हिरालाल प्रसाई लगायतको उपस्थिति थियो ।

सडकमा रहेका बेवारिसे महिला पुरुषको उद्धार गरेर उनीहरुलाई आश्रय दिने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका वडा १० मा २०७९ सालदेखि सो मानव सेवा आश्रम सञ्चालन हुँदैआएको छ ।