अविनाश चौधरी
धनगढी, माघ १५ गते । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर २ स्थित लम्कीमा आज नेपाली कांग्रेसका कार्यकर्तासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहले जेनजी आन्दोलनपछि उठेका सवाललाई नयाँ जनादेशमार्फत सम्बोधन गर्न मुलुकमा निर्वाचन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले जेनजी आन्दोलनपछि गठन भएको सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा निर्वाचन हुने नहुने भन्ने अन्योल सिर्जना भइरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलमा राजनीतिक दलहरूसँग छलफल भएको र त्यसपछि राष्ट्रपतिसमक्ष बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति सुनिश्चित गरेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री शाहले सरकारबाट निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरू तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको भन्दै निर्वाचन नहुने भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभयो । यस्ता भ्रमका बाबजुद सरकार निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन दृढतापूर्वक लागिपरेको उहाँको भनाइ थियो ।
प्रदेश सरकारको प्रमुखको हैसियतले निर्वाचन सम्पन्न गराउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावलाई सफल बनाइने प्रतिवद्धता जनाउनुुुभयो । उहाँले “एकता नै बल हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै एकताबाट मात्र नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।