• १५ माघ २०८२, बिहिबार

‘निर्वाचन निष्पक्ष बनाउन मिडियाले भूमिका खेल्नुपर्छ’

blog

कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव लक्ष्मीकुमारी बस्नेतसहित अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आगामी निर्वाचनलाई स्वस्छ, भयरहित र निष्पक्ष बनाउन मिडियाकर्मीलाई भूमिका खेल्न आग्रह गर्नुभएको छ । 

प्रेस काउन्सिल नेपालद्वारा बिहीबार यहाँ आयोजित ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अनलाइन प्रकाशनका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “पत्रकार आचारसंहिताबारे सबै पत्रकार जानकार हुनुहुन्छ । पालना पनि गर्नुपर्छ ।”

पत्रकारले सञ्चार माध्यममा पक्ष विपक्ष लिएर समाचार सम्प्रेषण गरेको देखिएकाले त्यस्तो छुट पत्रकारलाई नभएको भन्दै उहाँले स्वतन्त्र, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । निर्वाचन आउन ३५ दिन बाँकी रहेका बेला मिडियामा पक्षीय समाचार आउन थालेको भन्दै उहाँले त्यस्तो गर्न छुट मिडियालाई नरहेको बताउनुभयो । 

पत्रकार आचारसंहिता र निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अक्षरशः पालना गर्न उहाँले सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । निर्वाचन सफल बनाउन हामी सबैको कर्तव्य भएको भन्दै उहाँले निर्वाचन निष्पक्ष, भयरहित र स्वस्थ बनाउन लाग्न आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन काउन्सिलले निर्वाचन आयोगसँग सहकार्य गरी आचारसंहिता कार्यान्वयन र उल्लङ्घन बारेको अनुगमन गरिरहेको बताउनुभयो । निर्वाचन सफल बनाउन मिडियाकर्मीको पनि जिम्मेवारी रहेको भन्दै उहाँले पत्रकारलाई सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सम्पादकहरुले बिक्ने समाचारमा मात्र ध्यान दिँदा धेरै विषय ओझेलमा पर्नेगरेको भन्दै सन्तुलित समाचार दिन आग्रह गर्नुभयो । पछिल्लो समय २१ जनालाई आयोगले स्पष्टीकरण सोधेको र ५ जनाको मात्र जवाफ आएको बताउनुभयो । कतिपय सञ्चार माध्यमले मिडियाका सामाजिक सञ्जालमार्फत पक्षीय सूचना सम्प्रेषण गरिरहेको सूचना आयोगमा प्राप्त भएको चर्चा गर्दै उहाँले आचारसंहिता पालना गर्न मिडियाकर्मीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा अनलाइन प्रकाशनका सम्पादकहरुले प्रेस काउन्सिलले आफै निष्पक्ष र सन्तुलित काम गर्न नसकेको भन्दै मिडियालाई जिम्मेवार बनाउने काम काउन्सिलको रहेको सुझाव दिनुभएको थियो । सामाजिक सञ्जालमा सबैभन्दा बढी निर्वाचन उल्लङ्घनका विषय पोष्ट भइरहेकाले त्यसको नियमनका लागि काउन्सिलले ठोस पहल लिन सम्पादकले सुझाव दिएका थिए । 


अनलाइन मिडियामा कपी पेष्ट प्रबृत्ति हावी रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न अनलाइनका सम्पादकहरु नै जिम्मेवार हुनुपर्ने भन्दै कपि राइट समस्या समाधानमा लाग्न सुझाव आएको थियो । मेन स्ट्रिमका अनलाइन मिडियाभन्दा विना दर्ताका अनलाइन र युट्युव लगायत सामाजिक सञ्जालमा बढी आचारसंहिताको घटना भएको धारणा आएको छ । 

सो अवसरमा अनलाइन प्रकाशनका सम्पादकहरुमा विमल गौतम, अरुण बराल, रामेश्वर बोहरा, मात्रिका पौडेल, लक्की चौधरी, शिव सत्याल, विज्ञान अधिकारी, योगेश ढकाल, सन्तोष रोकाया, हेम विष्ट, सन्तोष तामाङ, माधव तिवारी, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, कृष्ण ढुंगाना, राजेन्द्र खनाल, सुशील अर्याल, तेजेन्द्र काफ्ले लगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव छविन्द्र पराजुली, सहप्रवक्ता रामशरण बोहराले मिडिया अनुगमनको विषयमा आएको उपलब्धिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका बोर्ड सदस्य सन्तराम विडारीले गर्नुभएको थियो ।