हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ १५ गते ।बाक्लो हिउँ जमेपछि बुधबारदेखि अवरुद्ध भएको मुस्ताङको कागबेनी–कोरला र कागबेनी–मुक्तिनाथ सडकको अवरुद्ध खुलेको छैन ।
उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडक अन्तर्गत ११० किलोमिटर सडकखण्ड अन्तरगत सडकखण्डमा करिब दुई फिटसम्म हिउँ भएका हिउँ पन्छाएर मात्रै सडक सञ्चालनको सम्भावना रहेको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनी हुदै छुसाङसम्म सडक सहज भएपनि लोघेकर दामोदर कुण्ड गाउँपालिकाको घमी, चराङ हुदै लोमान्थाङ गाउँपालिकाको कोरलासम्मको सडकमा जमेको हिउँलाई डोजरको सहायता पन्छाएर सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो ।
प्रजिअ शर्माले भन्नुभयो,‘‘आज मौसम खुलेको छ, हिउँ नपग्लिने ठाउँमा मेसिनको प्रयोग गरी पन्छाउनुपर्छ ।’’ सडक क्षेत्रमा जमेको दुई फिट हिउँ पग्लिन समय लाग्ने भएकाले माथिल्लो क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित बस्न अनुरोध गरिएको छ ।
हिमपातका कारण लोमान्थाङ क्षेत्रमा विद्युत् समेत अवरुद्ध भएको छ ।
हिमपातका कारण चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला)बाट नियमित विद्युतीय सवारी साधनसहित अन्य सामान बोकेका कन्टेनर समेत नाकामै रोकिएको छ भने लोमान्थाङ–४,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयको सेवा समेत प्रभावित भएको छ ।
यसैबीच कागबेनी देखि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सडकखण्ड सेल्फी डाँडासम्मको सडक सहज भए पनि माथिल्लो क्षेत्रमा हिउँ जमेकाले तीर्थालु कागबेनी र रानीपौवामा फसेका छन् ।
सडक सञ्जालमा जमेको हिउँ हटाएर दर्शन गर्न जाने र फर्किने तिर्थालुलाई सहज बनाउन स्थानीय जनप्रतिनिधि सहितको टोलीले समेत पहल गरेको छ ।
एक्कासि भारी हिमपात भएपछि मुस्ताङ प्रवेश गरेका पर्यटकलाई समस्या भएको थियो ।वारागुङ मुक्तिक्षेत्र–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले मौसममा सुधार भएकाले बिहिबारसम्ममा सवारी आवागमन खुलाउने प्रयास भइरहेको बताउनुभयो ।
हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले कागबेनी क्षेत्रमा सवारी साधनको व्यवस्थापन गरेको छ ।
मोटरसाइकल र हलुका सवारी साधन आवतजावत झनै जोखिम हुने भएकाले सचेत बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालको भनाइ छ ।
छिमेकी जिल्ला म्याग्दीको सदरमुका बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्मको सडक सञ्जाल सहज रहेको छ।