• १५ माघ २०८२, बिहिबार

धनुषा क्षेत्र नं. ३ मा मतदाता रिझाउँदै उम्मेदवार

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, माघ १५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमार्फत मतदाता रिझाउन लागिपरेका छन् । 

प्राचीन मिथिला र मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामको १७ वटा वडा यसै क्षेत्रमा पर्ने भएका कारण पनि राजनीतिक वृत्तमा यस निर्वाचन क्षेत्रको छुटै महìव छ । यस क्षेत्रबाट विभिन्न दल र स्वतन्त्र गरी ४५ जना चुनावी मैदानमा उत्रेका छन् । 

धनुषाको चार वटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी परेको यस क्षेत्रमा भन्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवारबिच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामभरत साह मतदाताले अनुहार वा दल हेरेर नभई उम्मेदवारले यस क्षेत्रका लागि गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा मतदान गर्नुपर्ने बताउनुहुन्छ । पत्रकार साहले जनकपुरधाममा पर्यटन प्रवर्धनका लागि हुनुपर्ने विकास नभएको, उद्योग कलकारखानाको अभावका कारण रोजगारी सिर्जना हुन नसकेको, किसानलाई सधैँ मलखाद्य र बिउबिजनको अभाव हुने गरेको, रोजगारीको अभावमा युवा विदेश पलायन हुने गरेको जस्ता समस्या रहेको भन्दै यस्ता समस्या समाधानका लागि उम्मेदवारले आफ्नो घोषणापत्रमा के कस्ता विषयलाई समावेश गरेको छ, त्यसलाई हेरेर मात्रै मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि यस क्षेत्रबाट प्रत्यक्षतर्फ छ पटक चुनाव लड्दा चार पटक विजयी हुनुभएको छ भने दुई पटक पराजय भोग्नुभएको छ । २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार निधिले राप्रपाका उम्मेदवार कृष्णचरण श्रेष्ठभन्दा एक हजार १२९ मत बढी ल्याएर निर्वाचित हुनुभएको थियो । उहाँले ११ हजार ६९३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै २०५१ सालको निर्वाचनमा पनि निधिले नेकपा (एमाले) का उम्मेदवार रामअशिष महासेठभन्दा ९७२ मत बढी ल्याएर निर्वाचित हुनुभएको थियो । 

२०५६ सालको निर्वाचनमा भने निधि राप्रपाका कृष्णप्रताप मल्लसँग पाँच हजार २४० मतको अन्तरले पराजित हुनुभएको थियो । २०६४ सालको निर्वाचनमा पुनः निधिले नेकपा (एमाले) का हरिदेव मण्डलभन्दा पाँच हजार ६४६ मत बढी ल्याएर निर्वाचित हुनुभएको थियो । 

२०७० सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार निधि नेकपा (एमाले) का उम्मेदवार जुलीकुमारी महतोसँग एक हजार ४९२ मत बढी ल्याएर निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा राजपाका राजेन्द्र महतोसँग दुई हजार ९०३ मतको अन्तरले पराजित हुनुभएको थियो । २०७९ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार निधि समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य हुनुभएको थियो ।  त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार जुलीकुमारी महतो यसअघि प्रत्यक्षतर्फ दुई पटक चुनाव लड्दा एक पटक विजयी हुनुभयो भने एक पटक पराजित हुनुभयो । 

उहाँ २०६४ साल र २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य हुनुभएको थियो भने २०७९ सालको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी) र लोसपाबिचको गठबन्धनका उम्मेदवार लोसपाका अनिल झाभन्दा नौ हजार ७०२ मत बढी ल्याएर निर्वाचित हुनुभएको थियो । त्यसै गरी रास्वपाका उम्मेदवार मनिष झा २०७९ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य हुनुभएको थियो । जसपा नेपालका उम्मेदवार परमेश्वर साह पहिलो पटक भएको प्रदेश सभा सदस्यको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएको हो । एक लाख २५ हजार ९२७ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा निर्वाचन प्रतिस्पर्धा रोचक हुने अनुमान आममतदाताले गरेका छन् ।