नेपालगन्ज समाचारदाता
नेपालगन्ज, माघ १५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै निर्वाचनको माहोल तातिँदै गएको हो ।
अहिले जिल्लाका तीन वटै क्षेत्रमा मनोनयन दर्ता गराएका अधिकांश दल र उम्मेदवार चुनावी प्रचारको रणनीति बनाउन व्यस्त छन् । उनीहरू चुनावी जोडघटाउ गर्दै मतदाता रिझाउने योजना बनाउन सक्रिय देखिन्छन् ।
पूर्वमन्त्री मोहम्मद इस्तियाक राई एमालेको उम्मेदवार बनेसँगै बाँके–२ सर्वाधिक चर्चित बनेको जनाउँदै नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले क्षेत्रीय प्रचारप्रसार समिति गठन गर्न लागिएको बताउनुभयो । उहाँले जिल्लाका तीन वटै क्षेत्रमा प्रचारप्रसार समिति गठनसँगै सम्पर्क कार्यालय खोल्न पनि सुरु गरिएको बताउनुभयो । नेपाली कांग्रेस बाँकेका सभापति तथा क्षेत्र नंं. १ का उम्मेदवार नारायण गौडेलले कांग्रेसले पनि क्षेत्रीय प्रचारप्रसार समिति गठन गर्ने तथा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्न सुरु गरेको बताउनुभयो ।
उहाँले औपचारिक र अनौपचारिक प्रचारप्रसार सुरु भएसँगै बिस्तारै समग्र जिल्ला निर्वाचनमय हुँदै गएको पनि बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके–२ का उम्मेदवार दीपेन्द्र विष्टले आफूले प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो र जनसम्पर्क कार्यलाई अगाडि बढाइसकेको बताउनुभयो । उहाँले ठाउँ ठाउँमा सम्पर्क कार्यालय स्थापना गर्ने कार्य पनि सँगसँगै गरिरहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नीलराज अधिकारीले रास्वपाले पनि कार्यकर्ता परिचालन गरेर जनताको भावना बुझ्ने काम सुरु गर्दै प्रचारप्रसारलाई अगाडि बढाएको बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा बाँके–२ का उम्मेदवार कमरुद्दिन राईले जिल्लाका तीन वटै क्षेत्रमा प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय खोल्न थालिसकेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहमहामन्त्री तथा बाँके–२ का उम्मेदवार ऋषिराज देवकोटाले पनि प्रचारप्रसार समिति गठन र सम्पर्क कार्यालय स्थापना गर्ने कार्यमा आफूहरू जुटेको बताउनुभयो ।
स्वतन्त्र उम्मेदवारले पनि घरदैलो र प्रचारप्रसार सुरु गरिसकेको बताएका छन् । स्वतन्त्र उम्मेदवार गोपालप्रसाद गिरीले जनताका एजेन्डा र माग बुझ्न जनसम्पर्क गरिरहेको बताउनुभयो ।
बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा तीन सिटका लागि ५६ जना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ ।
पाँच हजार सुरक्षाकर्मी परिचालन हुने
तौलिहवा समाचारदाताका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी कपिलवस्तुमा पाँच हजार सुरक्षाकर्मी र तीन हजार कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जनार्दन गौतमका अनुसार निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरिएको हो । दुई हजार ९९३ निर्वाचन प्रहरी तथा नेपाल प्रहरी, एक हजार सशस्त्र प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो । निर्वाचनलाई स्वतन्त्र, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनासमेत बनाइएको उहाँको भनाइ छ ।
उहाँले निर्वाचनपूर्व, निर्वाचनको दिन र त्यसपछि गरी तीन किसिमको सुरक्षा योजना बनाइएको बताउनुभयो । निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताउनुभयो । निर्वाचन स्वच्छ र भयरहित बनाउन भरपर्दो सुरक्षाव्यवस्था मिलाएको उहाँको भनाइ छ ।