दाङ समाचारदाता
दाङ, माघ १५ गते । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधि सभा निर्वाचन यस पटक बहुपक्षीय प्रतिस्पर्धाका कारण चासोको केन्द्र बनेको छ । सत्तारूढ तथा प्रतिपक्षी दलका अनुभवी नेतादेखि नयाँ राजनीतिक शक्तिसम्मको सहभागिताले यस निर्वाचन क्षेत्रको समीकरण थप जटिल र रोचक बनेको छ ।
यस क्षेत्रबाट नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा (एमाले) का रेवतीरमण शर्मा, नेपाल कम्युनिस्ट पार्टीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक तथा पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (स्वतन्त्र) सहित १४ जना उम्मेदवार मैदानमा छन् ।
नेकपाभित्रको आन्तरिक राजनीतिक विवादपछि टिकट नपाएका पूर्वमुख्यमन्त्री केसीले स्वतन्त्र उम्मेदवारी दिएपछि सो दलको मताधारमा प्रभाव पर्ने आकलन गरिएको छ । दुई पटक यही क्षेत्रबाट निर्वाचित भएका मेटमणि चौधरीका लागि यस पटक दलभित्रको असन्तुष्टि र विगतमा जस्तो गठबन्धनको साथ नहुनु चुनौतीका रूपमा देखिएको छ ।
२०७९ सालको निर्वाचनमा मेटमणि चौधरीले २६ हजार ५६३ मत प्राप्त गरी विजयी हुँदा एमालेकी शान्ता चौधरी २१ हजार ४७९ मतसहित दोस्रो हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक १३ हजार ७९८ मतसहित तेस्रो स्थानमा रहनुभएको थियो ।
स्थानीय मतदाताका अनुसार यस पटकको निर्वाचनमा दलहरूको सङ्गठनात्मक शक्ति, उम्मेदवारको व्यक्तिगत प्रभाव, पार्टीभित्रको एकता तथा असन्तुष्टि र नयाँ राजनीतिक शक्तिको उपस्थितिले निर्णायक भूमिका खेल्ने छ । सङ्गठनका हिसाबले कांग्रेस, एमाले र नेकपा तिनै दल बलिया मानिन्छन् ।
यो निर्वाचन क्षेत्र एक नगरपालिका, तीन गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका चार वडा समेटिएको क्षेत्र हो । पछिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले र नेकपाले आआफ्नो प्रभाव देखाएका थिए, जसले प्रतिनिधि सभा निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
स्थानीयका अनुसार यसअघि निर्वाचित हुँदै आएका नेताका लागि यस पटक जित सुनिश्चित छैन । लमही नगरपालिका–४ की सीता चौधरीले भन्नुभयो, “यो चुनाव व्यक्तिको भन्दा पनि सङ्गठन, रणनीति र मतदाताको मनोविज्ञानले तय गर्ने देखिन्छ । यस पटक प्रतिस्पर्धा मुख्यतः स्थापित दलहरूबिच केन्द्रित भए पनि नयाँ दलको प्रभाव पनि उस्तै छ ।”
कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरी पूर्वसमानुपातिक सांसद तथा पार्टीका सहमहामन्त्री हुनुहुन्छ भने एमालेका रेवतीरमण शर्मा लुम्बिनी प्रदेश सभा सदस्यको अनुभव बोकेका नेता हुनुहुन्छ । दुवै उम्मेदवार सङ्गठन र अनुभवका हिसाबले बलिया देखिन्छन् । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले युवा मतदातामाझ बढ्दो आकर्षणमार्फत परम्परागत दललाई चुनौती दिइरहनुभएको छ ।
२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको यस क्षेत्रमा हाल मतदाता सङ्ख्या एक लाख ४० हजार नाघेको छ, जुन अघिल्लो निर्वाचनभन्दा पाँच हजार २६८ ले बढी हो ।