ज्ञानु पंगेनी
मध्यविन्दु , माघ १५ गते । नारायणगढ –बुटवल सडक कालोपत्रे भएपछि तीव्र गतिका कारण दुर्घटना हुनेक्रम बढेको छ । पुस महिनाको अन्तिम साता लगातारजसो सवारी दुर्घटना भए । दुर्घटना हुनेमा मोटरसाइकल नै थियो । ती दुर्घटनाको कारण भनेको तीव्र गति नै थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पुस महिनामा २६ वटा सवारी दुर्घटना भएको थियो । जसमध्ये १४ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । र १२ वटा सवारी दुर्घटनाका कारण तीव्र गति रहेको छ ।
नवलपुर खण्डमा दाउन्ने बाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न भएको छ । कालोपत्रे भएपछि सडक सहज बनेको छ । तर चालकले लापरवाही तरिकाले सवारी हाँक्दा दुर्घटनाको जोखिम समेत बढेको छ । जिल्लामा छ महिनाको अवधीमा ६३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी दुर्घटनाका कारण भनेको तीव्र गति नै देखिन्छ । तीव्र गतिका कारण ४५ वटा सवारी दुर्घटना भएको तथ्याङ्कले देखाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कुशल कुमार बर्तौलाले सवारी दुर्घटनाको मुख्य कारणमा अहिले तीव्र गतिमा सवारी हाक्नु नै रहेको बताउनुहुन्छ । तीव्र गति नियन्त्रण गर्न कार्यालयबाट निकै पहल भएको उहाँको भनाइ छ । ‘‘हामीले नियमित रुपमा ट्राफिक सचेतनाका कार्यक्रम गर्दै आएका छौँ, राडर गन मार्फत गति मापन गरेर जरिवाना पनि तिराएका छौँ । तर चालकले वेवास्ता गर्नुहुन्छ ।’’ बर्तौलाले भन्नुभयो, ‘‘हामीले त उहाँहरूकै लागि भनेका हुन्छौं, तर उहाँहरूले त्यस्तो सोच्नुहुन्न । पैसा खानका लागि चेकिङ गर्छ भनेर नकारात्मक कुरा मात्रै हुन्छ । सकारात्मक रुपमा लिएर गति नियन्त्रण गरिदिए जनधनको क्षति हुनबाट जोगिन्थ्यो ।’’
अहिले सडक निर्माणधीन अवस्थामा रहेको र सडक निर्माण सम्पन्न नहुँदा ट्राफिक सङ्केतहरू राख्न नसकिएको बर्तौलाले बताउनुभयो । कार्यालयले बजार क्षेत्रमा गति संकेत गर्ने बोर्डहरू राखेको छ । वन क्षेत्र र अन्य केही क्षेत्रमा राख्न बाँकी छ । निर्माण पुरा भएपछि सङ्केत राख्ने काम हुने उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको ६ महिनामा जिल्लामा भएको ६३ वटा सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । जसमा पुस महीनामा नै सबैभन्दा बढी २६ वटा दुर्घटना भएको छ । जसमा ८ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पुरुष २६ जना, महिला पाँच जना र एक जना बालिका रहेकी छन् । दुर्घटनामा ४२ जना गम्भीर र ३५ जना सामान्य घाइते भएको तथ्याङ्कले देखाएको छ ।