जयकृष्ण यादव
इनरुवा, माघ १५ गते । प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक पुराना नेताहरू चुनावी मैदानमा नउत्रिँदा विभिन्न दलका नयाँ अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
गत निर्वाचनमा यस क्षेत्रबाट विजयी नेकपा एमालेका नेता भीमप्रसाद आचार्य, पराजित भएका नेकपा माओवादी केन्द्रका डम्बर सुवेदी (हिमाल) तथा नेपाली कांग्रेसका नेता सीताराम मेहताजस्ता चर्चित अनुहार यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् । ठुला दलसँगै नयाँ खुलेका दलहरूले पनि नयाँ उम्मेदवार अघि सारेपछि नयाँ अनुहारबिचको प्रतिस्पर्धा रोचक बनेको हो ।
सुनसरी–२ मा पूर्व प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा, नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरी, जनता समाजवादी पार्टी नेपालका रामचन्द्र मेहता, नेकपा एमालेका युवा नेता सुजन लामा, उज्यालो नेपाल पार्टीका गोपाल तामाङसहित २८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले पार्टीको विगतको लोकप्रियता र आफूले गरेका कामको मूल्याङ्कनका आधारमा विजयी हुने दाबी गर्नुभएको छ । गत निर्वाचनमा एमाले र कांग्रेसपछि तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा यसपटक पुनः दोस्रोपटक मैदानमा उत्रनुभएको हो । अन्य अधिकांश दलले भने नयाँ उम्मेदवार अघि सारेका छन् । थापाले गत निर्वाचनमा १९ हजार तीन सय ८६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको थियो ।
गत निर्वाचनमा गठबन्धनका कारण उम्मेदवार नउतारेको जनता समाजवादी पार्टी नेपालले यसपटक रामचन्द्र मेहतालाई उम्मेदवार बनाएको छ । मेहताले यसअघि एमालेसँगको सहकार्यले एमाले विजयी भएको उल्लेख गर्दै यसपटक पार्टी एक्लै चुनाव जित्ने दाबी गर्नुभएको छ ।
एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेका उम्मेदवार सुजन लामाले सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई पार्टीको जितलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको छ । आफू युवा भएको, पार्टीको उद्देश्य स्पष्ट रहेको तथा विकास र समृद्धिको एजेन्डाका कारण उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
यस क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीकी गीता माया बजेगु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)की कृष्णकुमारी दनुवार, मंगोल नेशनल अर्गनाइजेसनका सन्तहिरा राई, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का अतित नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार बस्नेतले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा सत्यनारायण पण्डित, तीन दशकदेखि पत्रकारितामा सक्रिय इफतखार हसन (इकबाल), राजकुमार खत्री, भीमबहादुर दाहाललगायत चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।