चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १५ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङ्लिङ नगरपालिकामा हुने भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकामा सबैभन्दा बढी मतदान केन्द्र कायम भएको हो ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा सबैभन्दा बढी २१ वटा मतदान केन्द्र कायम भएको छ । फुङ्लिङ नगरपालिका सबैभन्दा बढी मतदाता रहेको स्थानीय तह पनि हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङ्लिङ नगरपालिकामा १८ हजार १९० मतदाता रहेका छन् ।
फुङ्लिङ नगरपालिकापछि फक्ताङ्लुङ गाउँपालिकामा १७ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सिरिजङ्घा गाउँपालिकामा १६ वटा मतदान केन्द्र, पाथीभरा याङ्वरक र सिदिङ्वा गाउँपालिकामा १३–१३ वटा मतदान केन्द्र कायम भएका छन् ।
यस्तै, आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला र मिक्वाखोला गाउँपालिकामा १२–१२ वटा मतदान केन्द्र कायम भएका छन् । सबैभन्दा कम मेरिङ्देन गाउँपालिकामा ११ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामा गरेर कुल मतदान केन्द्रको सङ्ख्या १२७ वटा कायम भएका छन् । जिल्लामा मतदानस्थलको सङ्ख्या भने ८० रहेको छ ।
यता आगामी निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या भने जिल्लामा कुल ९० हजार ३२७ रहेको छ । उक्त सङ्ख्यामध्ये ४८ हजार २८५ पुरुष र ४२ हजार ४२ महिला जना महिला मतदाना रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल (विपिन) ले जानकारी दिनुभयो ।
दुलालका अनुसार वडागत हिसाबले फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा सबैभन्दा बढी दुई हजार ८५५ र न्युन फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा ३५५ जना मतदाता रहेका छन् । यसअघि २०७९ सालको निर्वाचनमा जिल्लामा ७५ वटा मतदानस्थल रहेकोमा यसपटक पाँचवटा नयाँ मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।