• १५ माघ २०८२, बिहिबार

दोलखाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु

blog

दोलखाको कालिञ्चोक कुरीमा भएको हिमपातमा रमाउँदै पर्यटकहरु । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, माघ १५ गते ।
दोलखाको समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा रहेको कालिञ्चोकलगायत उच्च पहाडी भेगमा हिउँदे वर्षासँगै बुधबार साँझदेखि हिमपात सुरु भएको छ । धेरै दिनदेखि धुम्मिएर भएको हिमपातका कारण अत्यधिक चिसो पनि बढेपछि जनजीवन प्रभावित बनेको छ ।

कालिञ्चोकको मन्दिर परिसर तथा कुरी क्षेत्रमा बुधबार साँझ देखिनै लगातार हिमपात भइरहेको होटल सुनपातिका सञ्चालक हरि ओलीले जानकारी दिँदै लगातारको हिमपातले कालिञ्चोकको बसाइ कष्टकर भए पनि पर्यटकहरू भने रमाइलो गरिरहेका छन् ।

साङ्ग्रिला होटका सञ्चालक रमेह पाख्रिनका अनुसार मङ्सिरदेखि नै हिमपात हुने गरेकोमा यसपालि माघ महिनामा हिमपात भएपछि कालिञ्चोक क्षेत्रमा हजारभन्दा बढी पर्यटकहरू रमाइरहेका छन् । कुरी क्षेत्रका होटलहरु प्रायः भरिभराउनै रहेको होटल व्यवसायीहरूले बताएका छन् ।

हिमपातले माटो राम्रो हुने र आलु खेती फस्टाउने भएकाले खरीढुङगाका किसानहरू चिसोले कष्ट बेहोर्नु परेपनि खुसी भएका बताउँछन् ।

दोलखाको शैलुङ, खावाडाँडालगायतका उच्च पहाडी भेगहरुमा समेत हिमपात सुरु भइरहेको छ यो हिमपातको कारण शैलुङ क्षेत्रमा पर्ने ढुङगे, झोर मनगाँउ, पात्ले, खोलाखर्क आसपासका किसानहरु आलु खेती फस्टाउने भन्दै खुसी भएका स्थानीय मोहनसिं तमाङले बताउनुभयो ।