• १५ माघ २०८२, बिहिबार

‘एक प्रहरी–एक फरार प्रतिवादी’ अभियानबाट दुई हजार १५४ जना पक्राउ

blog

जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश प्रहरीका प्रवक्ता कमल थापासहितका प्रहरीहरु । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, माघ १५ गते ।
मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशमा शान्ति–सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित फरार प्रतिवादी पक्राउ अभियानलाई उच्च प्राथमिकतामा राखेर तीव्र बनाएको छ । निर्वाचन लक्षित बुधबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालाई योजित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयले निर्वाचन लाक्षिति कार्याक्रमलाई व्यवस्थित र भयरहित बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई उच्च प्राथमिकतामा राखेर तीव्र बनाएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता कमल थापाले आन्दोलन, अपराध र कारागारबाट फरार घटनापछि प्रहरीको ध्यान कानुन कार्यान्वयन र दोषीलाई कानुनी दायरामा ल्याउनेतर्फ केन्द्रित फरार प्रतिवादी पक्राउ अभियानलाई प्राथमिकतामा राखेको बताउनुभएको हो ।

प्रवक्ता थापाका अनुसार सञ्चालनमा रहेको ‘एक प्रहरी–एक फरार प्रतिवादी’ अभियान अन्तर्गत हालसम्म दुई हजार एक सय ५४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जघन्य अपराधमा संलग्न तथा अदालतबाट म्याद थप भई फरार रहेका व्यक्तिको खोजीलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी तथ्याङ्कअनुसार म्याद थप भई फरार भएका २४ जनामध्ये पाँच जनालाई पक्राउ गरिएको छ । यस्तै, कारागारबाट फरार एक हजार ४५ कैदीबन्दीमध्ये ५७९ जनालाई नियन्त्रणमा लिइएको छ । बाल सुधार गृहबाट फरार ६८ जनामध्ये २० जनालाई पक्राउ गरिएकोे छ ।

यसैगरी, फरार प्रतिवादी पक्राउ अभियानसँगै मधेश प्रहरीले संगठनभित्र आन्तरिक शुद्धिकरण र जिम्मेवारीलाई पनि अघि बढाएको प्रवक्ता थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “४४३ जना प्रहरीको काज तथा अदली–बदली गरिनुका साथै लामो समय एउटै जिम्मेवारीमा रहेका प्रहरीलाई स्थानान्तरण गर्दै १५ वर्ष ट्राफिक ड्युटीमा रहेका ३२ जना तथा सादा पोशाकमा कार्यरत ९७ जनाको जिम्मेवारी परिवर्तन गरिएको छ ।”

प्रहरीले हत्या, डकैती, लागुऔषध, मानव बेचबिखनजस्ता जघन्य अपराध अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ । फरार अभियुक्त पक्राउमार्फत अपराध नियन्त्रण र जनविश्वास पुनःस्थापना गर्ने उद्देश्य लिइएको प्रहरीको भनाइ समेत रहेको छ ।

यस्तै, प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा पनि फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै प्रदेशमा कानुनी शासन र दीगो शान्ति कायम गर्न थप सशक्त सुरक्षा रणनीति अपनाइने जनाएको छ ।

मधेश प्रदेश प्रहरीका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन १४ हजार ३ सय जना नेपाल प्रहरी तथा २८ हजार २९५ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ ।

मधेशका आठ जिल्लामा रहेका ३२ निर्वाचन क्षेत्रमा कुल दुई हजार १६० मतदानस्थल र चार हजार ४७१ मतदान केन्द्र रहेका छन् । तीमध्ये एक हजार २४६ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।