गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १५ गते । वस्तु तथा सेवाको मूल्यवृद्धि दरसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रकाशनको जिम्मेवारी राष्ट्रिय तथ्याङ्क कार्यालयलाई दिने गरी तयारी सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले तयार गरिरहेको यस्तो विवरण अबदेखि कार्यालयलाई हस्तान्तरण गर्न आवश्यक अध्ययनका लागि कार्यदल बनाउने निर्णय भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय तथ्याङ्क परिषद्को हालै सम्पन्न पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपाल राष्ट्र बैङ्कबाट उत्पादन हुँदै आएका उपभोक्ता मूल्य सूचकाङ्कलगायतका काम कार्यालयलाई हस्तान्तरण गर्न प्रतिवेदन तयार गर्न सात सदस्यीय कार्यदल बनाएको छ ।
नेपाल राष्ट्र बैङ्कका आर्थिक अनुसनधान विभागका कार्यकारी निर्देशक संयोजक रहने उक्त कार्यदललाई त्यस्तो सूचकाङ्कलगायतका विषयमा तथ्याङ्क सङ्कलन, तयारी तथा प्रकाशनसम्बन्धी विद्यमान व्यवस्थाको अध्ययन गरेर चार महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी बैठकले दिएको छ ।
मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रणको समेत जिम्मेवारी पाएको नियामक राष्ट्र बैङ्क स्वयम्ले नै यस्तो तथ्याङ्क उत्पादन गर्नुभन्दा अलग संरचनाबाट यस्तो काम हुनुपर्ने बहस हुँदै आएको छ । पछिल्लो समय त्यस्तो तथ्याङ्कमा सर्वसाधारणले आशङ्कासमेत गर्दै आएका छन् ।
कार्यालयको मूल दायित्व नै तथ्याङ्क सङ्कलन गर्ने भएकाले उपभोक्तासम्बन्धी सूचकाङ्क पनि कार्यालयलाई जिम्मेवारी दिने सन्दर्भमा आवश्यक सुझावका लागि कार्यदल गठन भएको कार्यालयका सूचना अधिकारी पूर्णबहादुर घर्तीमगरले जानकारी दिनुभयो । “राष्ट्र बैङ्कबाट कार्यालयलाई हस्तान्तरण गर्दा त्यसका कानुनी, संरचनागत विषयमा कार्यदलले उपयुक्त सुझाव दिने छ,” उहाँले भन्नुभयो ।
नेपाल राष्ट्र बैङ्कले अहिले मासिक रूपमा यससम्बन्धी विवरण सार्वजनिक गर्छ । जसमा उपभोक्तासँग सम्बन्धित थोक तथा खुद्रा मूल्य वृद्धिदर र भौगोलिक रूपमा भएको मूल्यवृद्धिदरलाई तुलनात्मक रूपमा प्रस्तुत गरिन्छ । राष्ट्र बैङ्कले चार सयभन्दा बढी वस्तुको ‘बास्केट’ तयार गरेर देशभरका गणकमार्फत तथ्याङ्क सङ्कलन गरेर मूल्यवृद्धिदर सार्वजनिक गर्दै आएको छ ।
परिषद्ले गठन गरेको कार्यदललाई यससम्बन्धी कार्य कार्यालयबाट गर्दा आवश्यक पूर्वाधार, स्रोत, जनशक्ति तथा क्षमता विकासको विश्लेषण, कानुनी र प्रक्रियागत समायोजनका आधार र सङ्क्रमण अवधिभर राष्ट्र बैङ्क र कार्यालयले संयुक्त रूपमा उक्त कार्य गर्ने गरी उपयुक्त संरचना प्रस्ताव गर्ने कार्यदेश दिएको छ ।
कार्यदलका अन्य सदस्यमा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव, राष्ट्रिय योजना आयोगका आर्थिक व्यवस्थापन महाशाखाका सहसचिव, कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी, राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागका निर्देशक, कार्यालयको मूल्य तथ्याङ्क शाखाको निर्देशक र सदस्य सचिवमा राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक रहने व्यवस्था छ ।