• १५ माघ २०८२, बिहिबार

प्रतिनिधि सभा सदस्य उम्मेदवार

व्यवसायीदेखि पूर्वप्रशासकसम्म

blog

काठमाडौँ, माघ १५ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा उद्योग तथा व्यवसायको क्षेत्रमा प्रसिद्धि कमाएका थुप्रै व्यक्ति उम्मेदवार बनेका छन् । 

विगतमा जस्तै यस पटक पनि निर्वाचनमा होमिएका व्यक्ति अर्बपतिदेखि शिक्षा, स्वास्थ्य, होटेल, पर्यटन, चिकित्सा, निर्माण, जलविद्युत्, घरजग्गालगायतका व्यावसायिक क्षेत्रमा स्थापित छन् । साथै प्रशासन, सुरक्षालगायतका क्षेत्रबाट नेतृत्व तहमा पुगेका व्यक्ति पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्ता व्यक्ति नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सानादेखि ठुला दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेलाई तोकिएको छ । 

आगामी निर्वाचनमा नेपालका एक मात्र अर्बपति व्यवसायी विनोद चौधरी पश्चिम नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार बन्नुभएको छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरी सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । चौधरीले आफू राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणका लागि राजनीतिमा होमिएको बताउनुभयो । 

कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. १ का उम्मेदवार भरतराज ढकाल मुक्तिनाथ विकास बैङ्कका पूर्वअध्यक्ष तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुहुन्छ । मुक्तिनाथ विकास बैङ्ककै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ पनि सोही क्षेत्रमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको छ । कांगे्रसका तर्फबाट मोरङ क्षेत्र नं. ३ मा मेडिकल व्यवसायी डा. सुनील शर्मा उम्मेदवार बन्नुभएको छ । शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट धादिङ क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएका रमेशप्रसाद धमला पर्यटन व्यवसायी हुनुहुन्छ । उहाँ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष हुनुहुन्छ । आफूले विगतमा पर्यटन क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याएको दाबी गर्दै धमलाले अब मुलुकको समग्र परिस्थति सुधार्नका लागि राजनीतिमा होमिएको बताउनुभयो । 

रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएको छ । उहाँ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) का तर्फबाट लुम्बिनी सुगर मिलका सञ्चालक वीरेन्द्रकुमार कनौडियाले कपिलवस्तु क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ बैङ्किङ व्यवसायमा पनि आबद्ध हुनुहुन्छ । एमालेकै तर्फबाट 

मनाङमा व्यवसायी पाल्देन छोपाङ र बारा निर्वाचन क्षेत्र नं. ४ मा किसान श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं. ९ मा उम्मेदवार बन्नुभएका डोलप्रसाद (डिपी) अर्यालको पृष्ठभूमि पनि व्यवसाय हो । उहाँ म्यानपावर तथा पर्यटन व्यवसायमा लामो समयदेखि सव्रिmय हुनुहुन्छ । उहाँ सो पार्टीका उपसभापतिसमेत हुनुहुन्छ । पर्सा क्षेत्र नं. ४ मा कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका अनिलकुमार रुँगटा पनि स्थापित उद्योगी नै हुनुहुन्छ । उहाँ खासगरी स्टिल तथा पाइप उत्पादनमा संलग्न जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुनुहुन्छ । 

त्यस्तै कांग्रेसकै तर्फबाट गोरखा क्षेत्र नं. १ मा व्यवसायी प्रेम खत्री, सोलुुखुुम्बुुमा कार्गो ढुवानी व्यवसायी प्रकाशसिंह कार्की र सुर्खेत–२ बाट व्यवसायी विष्णुुबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ । रुपन्देही–२ मा नेपाली कांग्रेसका तर्फबाट चुन्नप्रसाद शर्माले उम्मेदवारी दिनुभएको छ । उहाँ यसोदा फुुड्स प्रालिका सञ्चालक हुनुहुन्छ । उहाँ सोना प्याकेजिङ तथा होटेल स्याफ्रोनका पनि अध्यक्ष हुनुहुन्छ । 

यस्तै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट डोल्पामा धनबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्माण व्यवसायी बुढा अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएका कर्णबहादुर बुढा पनि व्यवसायी नै हुनुहुन्छ । उहाँहरू दुवै जना सहोदर भाइ हुनुहुन्छ । 

म्यानपावर व्यवसायी एलपी साँवा लिम्बू झापा–४ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएको छ । साँवा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ । सङ्घकै पूर्वअध्यक्ष तिलक रानाभाट कांग्रेसबाट कास्की क्षेत्र नं. १ का उम्मेदवार बन्नुभएको छ । 

नेपाली हालै सम्पन्न विशेष महाधिवेशनको छलफल तथा अन्य तयारीको काम रानाभाटकै अनामनगरस्थित घरमा भएको थियो । दाङ क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार बन्नुभएका किरणकिशोर घिमिरे पनि म्यानपावर व्यवसायी हुनुहुन्छ ।  नवलपुर क्षेत्र नं. १ बाट एमाले उम्मेदवार बन्नुभएका भगीरथ सापकोटा सोही पार्टीनिकट नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष हुनुहुन्छ । दोलखाबाट एमाले उम्मेदवार बन्नुभएका पार्वत गुरुङ जलविद्युत् व्यवसायी हुनुहुन्छ । 

स्याङ्जा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएका धनञ्जय रेग्मी पनि व्यवसायी नै हुनुहुन्छ । उहाँ नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत हुनुहुन्छ । स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका भागवतप्रकाश मल्ल गण्डकी यातायात बस व्यवसायी समितिका पूर्वअध्यक्ष हुनुहुन्छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष विजय स्वाँर कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ को उम्मेदवार बन्नुभएको छ । 

जनमत पार्टीबाट सिराहा क्षेत्र न. ४ मा उम्मेदवार बन्नुभएका वीरेन्द्रप्रसाद महतो समेत व्यावसायिक पृष्ठभूमिका नेता हुनुहुन्छ । उहाँ माछापुच्छ«े बैङ्कका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ व्यवसायी डा. उपेन्द्र महतोका भाइसमेत हुनुहुन्छ । महतो परिवारको लगानी शिक्षा, स्वास्थ्य, बैङ्कसहित क्षेत्रमा रहेको छ । 

रास्वपाबाट बारा क्षेत्र नम्बर ३ मा खल्तीका सहसंस्थापक अरविन्द साह उम्मेदवार बन्नुभएको छ । काठमाडौँ क्षेत्र नं. ५ मा रास्वपाका तर्फबाट उम्मेदवार बन्नुभएका शिशिर खनाल पनि विभिन्न अनलाइन प्लेटफर्मका सञ्चालक हुनुहुन्छ । उहाँ पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पनि हुनुहुन्छ । रास्वपाबाटै उदयपुर–१ मा उम्मेदवार बन्नुभएका पारसमणि गेलाल पनि व्यवसायी नै हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार बन्नुभएका असिममानसिंह बस्नेत राइड सेयरिङ एप पठाओका सञ्चालक हुनुहुन्छ । 

कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाबाट उम्मेदवार बन्नुभएका आनन्दबहादुर चन्द शिक्षा क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँ चितवनको बोस्टन इन्टरनेसनल कलेज तथा अङ्कुरम स्कुलका अध्यक्ष हुनुहुन्छ । व्यवसायी तथा पूर्वमन्त्री प्रेम आले पनि कैलाली क्षेत्र नम्बर ५ बाटै नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्छ । 

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बारा क्षेत्र नं. ४ बाट उम्मेदवार बन्नुभएको छ । समुन्नत पार्टीका सभापतिसमेत रहनुभएका खनाल यसअघि नेकपा (एमाले) को राजनीतिमा सव्रिmय हुनुहुन्थ्यो । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल ओखलढुङ्गाबाट रास्वपाको उम्मेदवार हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं. ३ मा रास्वपाका तर्फबाट उम्मेदवार बन्नुभएका राजु पाण्डे पनि काठमाडौँ महानगरपालिकाको महानगरीय प्रहरी बलका पूर्वप्रमुख हुनुहुन्छ । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।