• १४ माघ २०८२, बुधबार

मुख्यमन्त्री कार्कीद्वारा निर्वाचन अधिकृतको कार्यालय निरीक्षण

blog

निर्वाचन अधिकृतको कार्यालयको निरीक्षणमा मुख्यमन्त्री कार्की ।

बिष्णुप्रसाद पोखरेल

दमक, माघ १४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयको बुधबार निरीक्षण गर्नुभएको छ । 

दमक ८ स्थित नयाँ अग्र्यानिक सब्जिबजारको भवनमा निर्वाचन अधिकृतको कार्यालय रहेको छ । देशको सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्रमध्ये एक मानिएको झापा–५ मा निष्पक्ष, सुरक्षित र विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने उद्देश्यले मुख्यमन्त्री कार्कीले निरीक्षण गर्नुभएको हो । 

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवं काठमाडौं महानगरका निवर्तमान प्रमुख बालेन्द्र साहबिचको प्रतिस्पर्धाले सबैको ध्यान केन्द्रित गरेको छ ।

यस क्षेत्रमा नेपाली काँग्रेसकी मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ तथा राप्रपाबाट लक्ष्मी संग्रौला लगायतका उम्मेद्वारहरू चुनावी मैदानमा रहनुभएको छ । ओली र बालेन्द्रलाई महत्व दिइँदा आफुहरुलाई नदिइएको अन्य उम्मेद्वारहरुले गुनासो गर्ने गरेका छन् ।

निरीक्षणको क्रममा मुख्यमन्त्री कार्कीले यस क्षेत्रको निर्वाचन तयारी बारेमा जानकारी लिनुभएको थियो । कार्कीले सो अवसरमा पत्रकारसँग कुरा गर्दै निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता गर्नुभयो ।

सो अवसरमा निर्वाचन अधिकृत बिदुरकुमार कार्कीले निर्वाचन तयारी लगायतको बिषयमा जानकारी दिनुभएको थियो । यस क्षेत्रको सुरक्षा अवस्था र निर्वाचन निष्पक्षताका विषयमा राजनीतिक दल, मतदाता तथा सरोकारवालाहरूले विशेष चासो व्यक्त गरिरहेका छन् ।