• १४ माघ २०८२, बुधबार

कांग्रेसकाे चुनाव लक्षित १८–३० विशेष अभियान: युवादेखि आप्रवासीसम्मलाई समेट्दै

blog

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्मा

गोरखापत्र अनलाइन 

काठमाडौं, माघ १४ गते । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गरी आफ्नो चुनावी अभियानलाई व्यवस्थित बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माले सातै प्रदेश, ७७ जिल्ला र १६५ वटै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गर्दै निर्वाचन समिति र संरचनाहरू अविलम्ब गठन गर्न निर्देशन दिनुभएको हो।

पार्टी पंक्तिलाई व्यवस्थित रूपमा परिचालन गर्नका लागि जहाँ अहिलेसम्म समितिहरू गठन भएका छैनन्, त्यहाँ तत्काल कार्य अगाडि बढाउन कांग्रेसले ताकेता गरेको छ।

निर्वाचनका लागि प्रस्तावित संरचनाहरू

कांग्रेसले निर्वाचनको तयारीका लागि विभिन्न १२ वटा विशेष समिति तथा उपसमितिहरू प्रस्ताव गरेको छ। जस अन्तर्गत निर्वाचन अभियानलाई चुस्त बनाउन ५ देखि ७ सदस्यीय सानो आकारको निर्वाचन व्यवस्थापन सचिवालय गठन गर्न भनिएको छ।

यस्तै, निर्वाचन परिचालन मूल समिति अन्तर्गत निम्नलिखित उपसमितिहरू रहनेछन्:

सार्वजनिक कार्यक्रम व्यवस्थापन उपसमिति

  • महिला, तरुण, श्रमिक, कृषि, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय उपसमितिहरू
  • स्थानीय भूगोल र जनसांख्यिक क्लष्टर अनुसारका थप उपसमितिहरू

प्रचारप्रसार र प्रविधिमा जोड

निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउन केन्द्रीय प्रचारप्रसार समितिसँगको समन्वयमा रहने गरी प्रचारप्रसार मूल समिति गठन गरिने भएको छ। यस अन्तर्गत मिडिया समन्वय र सामाजिक सञ्जाल समन्वय उपसमितिहरू रहनेछन्। विशेष गरी सामाजिक सञ्जालको टोलीमा नवयुवाहरूलाई प्राथमिकता दिने कांग्रेसको नीति छ।

समावेशी र विशेष अभियान

कांग्रेसले १८ देखि ३० वर्ष उमेर समूहका युवाका लागि '१८–३० विशेष अभियान' सञ्चालन गर्ने भएको छ। त्यस्तै, विदेशबाट फर्किएका नेपालीहरूको सीप र अनुभवलाई उपयोग गर्न 'पूर्व आप्रवासी समन्वय समिति' समेत गठन गरिने परिपत्रमा उल्लेख छ।

अन्य महत्वपूर्ण समितिहरू

  • बौद्धिक क्षेत्र समन्वय समिति: सम्बन्धित भूगोलका प्राज्ञिक र बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य गर्न।
  • निजी क्षेत्र समन्वय समिति: साना व्यवसायीदेखि ठूला उद्योगीहरूसँग सम्पर्क र समन्वय गर्न।
  • स्थानीय प्रशासन समन्वय समिति: निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनसँग आवश्यक सहकार्य गर्न।

अनुगमन समिति: पार्टीका अग्रज व्यक्तित्वको संयोजकत्वमा गठित यो समितिले सबै उपसमितिहरूको कार्य अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिनेछ।

कांग्रेसले धार्मिक संघ–संस्था, सामाजिक संघ–संस्था र स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूसँग समन्वय गर्न छुट्टाछुट्टै संयन्त्रको व्यवस्था गरेको छ। यी सबै समितिहरू गठन भएपछि त्यसको विस्तृत विवरण अविलम्ब केन्द्रीय कार्यालयमा पठाउन उपसभापति शर्माले निर्देशन दिनुभएको छ।