• ७ मंसिर २०८१, शुक्रबार

कालीगण्डकी करिडोर निर्माण सम्पन्न गर्न अझै सात वर्ष लाग्ने

blog

काठमाडौं, असार ३१ गते । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोर निर्माण सक्न अझै सात वर्ष लाग्ने देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कालिगण्डकी करिडोरको निर्माण कार्य चलिरहे पनि निर्माण कम्पनीको ढिलाइ र मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड अन्तर्गतमा वर्षयाममा आएको बाढी र र पहिरोले सडकमा क्षति गरेपछि स्तरोन्नति गर्नुपर्ने भएकाले समय लाग्ने देखिएको हो ।

दुई खण्डमा विभाजन गरेर कालिगण्डकी करिडोरको निर्माण कार्य चलिरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा सडकखण्ड र मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड गरी यसको दुई भागमा विभाजन गरी काम भइरहेको छ । 

करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी–जोमसोम सडक खण्डका योजना प्रमुख जगत प्रजापतिका अनुसार यो खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । कुल ४३५ किलोमिटर लम्बाइ रहेको यो आयोजनाको मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड अन्तर्गत ११० किमि पर्छ । यस खण्डमा हाल ट्रयाक खोल्ने काम सकेर सडक चौडा गर्ने र ग्राभेल गर्ने काम भइरहेको छ ।  

यस सडकखण्ड अन्तर्गत वर्षायाममा कालिगण्डकीको सतह बढ्न गई आएको बाढीका कारण सडकमा क्षति भएपछि आयोजना सक्न समय लाग्नेभएको प्रमुख प्रजापतिले बताउनुभयो । 

“यस खण्डमा पर्ने सडकमा वर्षायाममा बाढी आउँदा करिडोरको सडकको सतह कटान गरेर ठूलो क्षति पुगेको छ । क्षति गराएको खण्डमा टनेल राख्ने कुरा अघि बढेको छ भने कतिपय स्थानमा पुल राख्ने प्रस्ताव आएको छ, उहाँले भन्नुभयो, ‘‘यसकारण निर्माण सक्न अझै सात वर्ष समय लाग्ने देखिन्छ ।’’ 

यस आयोजनाको चालू आ.व.मा एक अर्ब २२ करोड रकम विनियोजन भएको थियो, जसमध्ये ६० करोड रुपियाँ खर्च भएको प्रजापतिको भनाइ छ । 

यस्तै, करिडोरको अर्को खण्ड अन्तर्गत रहेको गैँडाकोट–राम्दी–मालढुंगा सडकखण्डको हालसम्मको भौतिक प्रगति भने ८० प्रतिशत भएको बताइएको छ । यस आयोजनाको पनि ट्रयाक खोल्ने काम सम्पन्न भएपश्चात् अब विस्तारै ग्राभेल गर्ने कार्य जारी रहेको आयोजनाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिनुभयो । यस  खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएर हाल ग्राभेल र सडक विस्तारको काम चलिरहेको छ, उहाँले भन्नुभयो, “पहिले ट्रयाक खोल्ने समयमा केही समस्याहरु रहे पनि हाल भने त्यो सबै समाधान भएको छ ।”

यस खण्डका लागि चालू आ.व.मा यस खण्डका लागि एक अर्ब रुपिँया बजेट विनियोजन भएको थियो । जसमध्ये ८० प्रतिशत रकम खर्च भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । यो खण्डको सम्पूर्ण काम आव २०८०–८१ सम्म सकिने उहाँको भनाइ छ । 

समेटिने धार्मिक क्षेत्र 

करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन्। उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ ।

कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम मानिएको छ । 

‘पहिले नवलपरासी बुटवल जानका लागि घण्टौँ लगाएर घुमाउरो बाटो जानुपथ्र्यो । अहिले चाँडै पुगिन्छ, स्थानीय उत्पादनले बजार पाउन थालेपछि यहाँको मुहार नै फेरियो ।’’

व्यापारिक आर्थिकोपार्जनको अपेक्षा

करिडोर निर्माण पछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको दक्षिणी सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । कालीगण्डकी करिडोर नेपालको आर्थिक सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । 

पाल्पा रामपुरका स्थानीय दीपेन्द्र भट्टराई करिडोरले रामपुरलगायतका क्षेत्रको मुहार नै फेरिदिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘पहिले नवलपरासी बुटवल जानका लागि घण्टौँ लगाएर घुमाउरो बाटो जानुपथ्र्यो । अहिले चाँडै पुगिन्छ, स्थानीय उत्पादनले बजार पाउन थालेपछि यहाँको मुहार नै फेरियो ।’’

यो करिडोर नैपालकै व्यापारिक एवम् आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको उहाँको भनाइ छ । करिडोर निर्माण भएपछि स्थानीय उत्पादनले बजार पाउनुका साथै स्थानीय धार्मिक एवम् पौराणिक क्षेत्रको प्रवद्र्धन पनि भएको उहाँले बताउनुभयो । करिडोर निर्माण भएपछि स्थानीय उत्पादनले त बजार पाए नै, यसका साथै स्थानीय धार्मिक एवम् पौराणिक स्थलको समेत प्रवर्धन भएको छ ।

यस्तै, अर्का स्थानीय प्रदीप पाण्डेयले पनि करिडोरले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनमा पनि वृद्धि भएको बताउनुभयो । ‘‘यो करिडोर भएर आउने पर्यटकहरु बढेका छन् । करिडोर अन्तर्गत पर्ने कोलादिघाट, रानिघाट, रिडीलगायतका धार्मिकस्थलको अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बढेका छन्’’ उहाँले भन्नुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।