• १४ माघ २०८२, बुधबार

हिउँले छपक्क छोपेको मुक्तिनाथ मन्दिर

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिर क्षेत्रमा परेको हिमपात । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), माघ १४ गते ।
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ । गएरातिदेखि लगातार भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ ।

लगातारको हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएका तीर्थालुसहित पर्यटकहरू रानीपौवा क्षेत्रमा रोकिएको छन् । यसवर्ष मुक्तिनाथ मन्दिरमा कात्तिक महिनाको दोस्रो सातापछि सबैभन्दा भारी हिमपात भएको छ । हिमपातका कारण मन्दिरको पदमार्गस्थल, मन्दिर परिसर तथा आसपासका क्षेत्रमा पैदलयात्राका लागि समस्या भएकाले भक्तजनलाई रानीपैवा क्षेत्रमै बस्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।


प्रतिकुल मौसमका कारण हिमपात भइरहेकाले कागबेनी–मुक्तिनाथ सडकखण्डबाट माथिल्लो क्षेत्रमा जाने यात्रुहरूलाई रोकिएको छ । हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बारागुङ मुक्तिक्षेत्र–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले हिमपातका कारण पर्यटकसँगै स्थानीय घरभित्रै बसेको बताउनुभयो । वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘अहिले मन्दिर क्षेत्रमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ ।’’

मन्दिरमा रहेको १०८ धारा, कुण्ड, मन्दिर लगायतका क्षेत्र हिउँले छोपेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने थासाङ, घरपझोङर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ । यसैबिच लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिका जोड्ने कागबेनी–लोमान्थाङ हुँदै कोरला सडक समेत हिमपात भएकाले पूर्णरुपमा अवरुद्ध भएको छ ।