• १३ माघ २०८२, मङ्गलबार

नवौँ वालिङ महोत्सव : खुल्ला पालिका स्तरीय पुरुष भलिबल हुने

blog

महोत्सव स्थलको तयारी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, माघ १३ गते ।
नवौँ वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता समावेश गरिने भएको छ । वालिङ उद्योग वाणिज्य सघको आयोजनामा माघ १४ देखि २५ गतेसम्म हुन लागेको महोत्सवमा वालिङ भलिबल क्लबको समन्वयमा माघ १८ देखि २४ गतेसम्म भलिबल सञ्चालन हुने भएको हो ।

वालिङ खेल मैदानमा सञ्चालन हुने नवौं वालिङ महोत्सवअन्तर्गत हुने प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, द्वितीय पुरस्कार एक लाख, तृतीय पुरस्कार ५० हजार तथा सान्त्वना पुरस्कार २५ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ बेष्ट स्पाइकर, बेष्ट सेटर, मिडल ब्लकर, बेष्ट डिफेन्डर र बेष्ट सर्भरलाई जनही पाँच हजार रुपियाँ पुरस्कार पाउने छन् ।

खेल प्रचलित भलिबल नियम अनुसार राउण्ड रोबिन प्रणालीमा खेलाइनेछ । प्रतियोगितामा पालिका बाहिरका राष्ट्रिय स्तरका बढीमा तीन जना खेलाडी र एक जना लिबेरो खेलाडी समावेश गर्न पाइनेछ ।

महोत्सवलाई थप आकर्षक र जीवन्त बनाउन अन्तर पालिका स्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताउँदै महोत्सव मूल आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो । प्रतियोगितामा १० टिमभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ ।

महोत्सवको मुख्य उद्देश्य स्याङ्जा जिल्लाको सांस्कृतिक, पर्यटन तथा औद्योगिक सम्भावनाको प्रवर्धन गर्नुका साथै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्नु रहेको उद्योग वाणिज्य सघ वालिङले जनाएको छ ।

महोत्सव अवधिभर स्याङ्जा डान्स आइडल सिजन–४, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स, टिकटक, लोकदोहोरी प्रतियोगिता, भजन तथा रत्यौली प्रस्तुति, रमाइलो मेला लगायतका कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् ।

गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने यस महोत्सव मार्फत विभिन्न जातजातिको भेषभूषा, कला तथा संस्कृति, पशुपंक्षी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, कफी, अदुवा तथा जडिबुटी प्रदर्शनी एवं शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीका नवीन आविष्कार, पुस्तक प्रदर्शनी र शैक्षिक सामग्री, लघु, घरेलु, कृषि, वन तथा पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवर्धन र बिक्री व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।