नेपालको संविधानले दुई सदनात्मक संसदीय प्रणालीलाई आत्मसात् गरेको छ । संवैधानिक प्रावधान अनुसार तल्लो सदनलाई प्रतिनिधि सभा र माथिल्लो सदनलाई राष्ट्रिय सभा भन्ने गरिन्छ । प्रतिनिधि सभाको निर्वाचनको चहलपहल तीव्र भइरहँदा माथिल्लो सदनका एकतिहाइ सदस्यको निर्वाचन आइतबार सम्पन्न भएको छ । ११० जना समानुपातिकका साथै १६५ प्रत्यक्ष निर्वाचनबाट आउने प्रतिनिधि सभा कुल २७५ सदस्यीय रहेको छ भने माथिल्लो सदन ५९ सदस्यीय रहेको छ । नेपालको संविधानको धारा ८६(३) ले राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुने व्यवस्था गरेको छ । सोही उपधारामा सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्थाले यसलाई स्थायी सदन बनाएको छ । सोही व्यवस्था अनुसार २०७६ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा एक तिहाइ सदस्यको निर्वाचन भएको हो । सम्पन्न निर्वाचनले छबर्से कार्यकालका लागि १८ जना सदस्य निर्वाचित गरेको हो । दलीय रूपमा भएको यस निर्वाचनले माथिल्लो सभामा समीकरणसमेत फेरबदल गरेको छ । राष्ट्रिय सभामा अब सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगे पनि अब त्यो रहेन ।
राष्ट्रिय सभा निर्वाचनको मतपरिणामले सभामा दलीय स्वरूप नयाँ बनाएको छ । मतपरिणामले नेपाली कांग्रेसका नौ जना सदस्य निर्वाचित भएपछि कांग्रेसको दलीय हैसियत पहिलो स्थानमा आएको छ । अब माथिल्लो सभामा कांग्रेस २४ सदस्यीय हुन पुगेको छ । १७ सदस्यमा कायम भएको नेपाली कम्युनिस्ट पार्टी दोस्रो भएको छ । पछिल्लो निर्वाचनमा नेकपा (एमाले) का आठ जना निर्वाचित भए पनि सङ्ख्याका आधारमा १० जना मात्र कायम भई तेस्रो हुन पुगेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक जना उम्मेदवार निर्वाचित भए । सो पार्टीका महन्थ ठाकुर मधेशको अन्य समूहबाट निर्वाचित हुनुभयो । राष्ट्रिय सभामा एक मात्र सदस्य रहेको लोसपाका शेखरकुमार सिंहको पदावधि सकिन लाग्दा ठाकुर निर्वाचित हुनुभएको हो । राष्ट्रिय जनमोर्चाबाट तुलबहादुर विश्वकर्मा एक मात्र सदस्य हुनुहुन्छ । जनता समाजवादी पार्टी नेपालबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि जित्न सकेनन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दुई तथा राष्ट्रिय जनमोर्चाबाट चार जनाको उम्मेदवारी परे पनि कुनै उम्मेदवार निर्वाचित हुन सकेनन् । माथिल्लो सदनमा नेमकिपा प्रतिनिधित्वविहीन नै छ ।
यस पटकको निर्वाचनमा कोशी प्रदेशमा अन्य समूहबाट उम्मेदवारमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा सुरुमै निर्विरोध निर्वाचित हुनुभयो । कोशी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) की रोशनी मेचे (महिला समूह), सोमनाथ पोर्तेल (दलित समूह) हुनुहुन्छ । मधेश प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित समूह), रञ्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक समूह), एमालेकी रेखाकुमारी झा (महिला समूह) का साथै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पाका नेतामा पर्नुहुन्छ । यसै गरी बागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा (महिला समूह) र एमालेका प्रेमप्रसाद दङ्गाल (अन्य समूह) निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा (महिला समूह) र नेपाली कांग्रेसका जगत तिमिल्सिना (अन्य समूह) निर्वाचित हुनुभएको छ । लुम्बिनी प्रदेशबाट एमालेकी रामकुमारी झाँक्री (महिला समूह), नेपाली कांग्रेसका वासुदेव घिमिरे (अपाङ्गता/अल्पसङ्ख्यक समूह) र चन्द्रबहादुर केसी (अन्य समूह) निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशबाट एमालेकी मीनासिंह रखाल (महिला समूह) र नेपाली कांग्रेसका ललितजङ्ग शाही (अन्य समूह) निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी (महिला समूह) र नेपाली कांग्रेसका खम्मबहादुर खाती (अन्य समूह) निर्वाचित हुनुभएको छ । दलीय हैसियतमा निर्वाचित भए पनि माथिल्लो सदनलाई संसदीय प्रणालीमा परिपक्व र बौद्धिक व्यक्तित्वहरूको सभाका रूपमा चिनिन्छ । तल्लो सदनमा प्रत्यक्ष जनमतबाट निर्वाचित हुने विधायकमा अनुभवको कमीसमेत हुन सक्छ । देशको कानुन तथा नीति निर्माणमा लामो अनुभव र खारिएका विधायक वाञ्छनीय हुन्छ । तल्लो सदनले पठाएका कतिपय विधिविधानलाई पनि सङ्गिन ढङ्गले विचारविमर्श गरी देशको हितमा सुधार गर्नुपर्ने हुन्छ । त्यसैले पनि माथिल्लो सदनको महिमा उच्च छ । नवनिर्वाचित सदस्यले अझ उच्च बनाउने अपेक्षा छ ।