• १३ माघ २०८२, मङ्गलबार

युवापुस्ताले खोजेको परिवर्तन

blog

कार्यकर्ताले नेताका हरेक झुटलाई आँखा चिम्लेर अनुमोदन गर्ने, उनकाविरुद्ध एक शब्द नबोल्ने परिपाटी मौलाउँदै जाँदा पार्टीको आन्तरिक लोकतन्त्रमा धमिरा लाग्दै गयो । नेतृत्वलाई प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने पद्धति हराउँदै जाँदा पुराना र मूलधारका राजनीतिक दलप्रति जनताको विकर्षण बढ्दै गयो । ती दलप्रतिको अपेक्षा शून्यप्रायः बन्दै गएको छ । कैयौँ प्रश्न आमजनमानसका मानसपटलमा उठिरहेकै बेला त्यसको जवाफ दिनु र खोज्नुको सट्टा पुराना दल र दलमा आबद्ध जिम्मेवार पदाधिकारी जवाफविहीन बन्दै गए । गलतलाई गलत र सहीलाई सही भन्न नसक्ने जस्ता प्रवृत्तिले राजनीतिक नेतृत्व असफल, अलोकप्रिय र दिशाविहीन बनेको यथार्थलाई स्वीकार गर्नै पर्छ ।

जब प्रश्नहरू हराउँदै जान्छन् वा प्रश्न गर्न निषेध गरिन्छ, लोकतन्त्र जीवित रहन्न । प्रश्न गर्नेको आवाज बन्द गर्नु वा प्रश्न सोध्न नपाउनु, प्रश्न सोध्नमा रोक लगाउनु निरङ्कुशतातर्फको अग्रसरता हो । फरक मतलाई किनारामा पु¥याउने जुन प्रवृत्ति झाँगिँदै गयो, लोकतन्त्रका लागि शोभनीय थिएन र होइन । अन्तर्क्रिया र जायज मुद्दामा सवालजवाफ गर्नु वाक स्वतन्त्रता हो । नागरिकको संविधानतः प्राप्त मौलिक हक हो । अनुयायीमा प्रश्नहीनता हुनु र नेतृत्वमा जवाफविहीनता रहनु राम्रो सङ्केत होइन ।  

राजनीतिक दलभित्र पहिलो पुस्ताका नेता वा अगुवालाई दोस्रो पुस्ताले वा अन्य सदस्यले कम्तीमा आफ्नो विवेकलाई व्यक्तिगत लाभ र निहित स्वार्थकै लागि मर्न नदिएको भए नेतृत्वलाई सच्चिने नैतिक दबाब पथ्र्यो । यहाँ त अझ बढी अराजक बन्ने बाटोतर्फ उत्प्रेरित गराइयो । झुटलाई मौन समर्थन गर्दै अकर्मण्यताको साक्षी बनेर स्विकारोक्ति जाहेर गरियो । दलगत वा व्यक्तिगत क्षणिक स्वार्थमा सङ्कुचित हुँदा बृहत् राष्ट्रिय हित ओझेलमा पर्दै गए । राजनीतिक दल आमनागरिकको विश्वास र भरोसाका लायक भएनन् । नागरिक केवल चुनावी गणित बनेर राजनीतिक दलको ग्राफ बढाइदिने र नेतालाई सत्ताको भ¥याङ बन्ने माध्यम मात्र बने ।

चुनाव जितेर गएपछि आममतदातासमक्ष गरेका वाचा सेलाउँदै जान्छन् । जनताले जब मतपत्र खसालेपछि बाकसको बिर्को बन्द हुन्छ । अनि नेताको मतदाताप्रतिको उत्तरदायित्व त्यहीँ समाप्त हुन्छ । नयाँ पुस्ताले खोजेको यस्तो पुरातनवादी सोच र विचारले परिचालित शासन होइन । सहभागिता, इमानदारिता, समानताको कसीमा सुशासनयुक्त र पारदर्शी शासन खोजेका हुन् । सत्ताबाट पूर्वाग्रही व्यवहारयुक्त शासनको अपेक्षा हुनै सक्दैन र त्यो टिकाउ हुँदैन पनि । लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक शासन प्रणालीमा पनि आमनागरिकमा एक खालको निराशा बढ्दै गयो । राजनीति क्रूर र पक्षपाती बन्दै गयो । जब गलत काम दलीय आडमा अनदेखा गरिन्छ, बचाइन्छ त्यहीँबाट अराजक क्रियाकलापलाई थप प्रोत्साहन मिल्दै जान्छ ।   

देशमा यति ठुलो विध्वंस भयो । सारा प्रशासनिक तथा ऐतिहासिक धरोहर जले । महत्वपूर्ण दस्ताबेज धुवाँसँगै उडे । कैयौँ वर्ष पुराना हाम्रा पहिचान बोकेका महत्वपूर्ण कलात्मक वास्तुकला, सर्वोच्च अदालत, संसद् भवन, सिंहदरबारलगायतका भवन क्षणभरमै खरानी बन्यो । जसले हाम्रो प्रणाली, संस्कार, कार्यशैली र विद्यमान व्यवस्थाप्रति एउटा सङ्गिन र गम्भीर चुनौती खडा ग¥यो । नयाँ पुस्तालाई प्राथमिकतामा नराखेको, उनीहरूका आवाजलाई दबाइएको, उनीहरूका सामान्य माग शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन जस्ता विषयलाई बेवास्ता गरिएको भन्दै जेनजी आन्दोलनमा होमिएको थियो । 

राजनीतिमा नवयुवाले चासो, चिन्तन चेतनाका साथ सक्रियता जनाउनु लोकतन्त्र सजीव हुनु हो । पछिल्लो समय नेपालको राजनीतिमा युवाको चासो र सक्रियता बढ्दै गएको छ, यो लोकतन्त्रको सकारात्मक पक्ष हो । यसले लोकतन्त्रलाई रक्तसञ्चार गर्दै जीवित बनाउँछ । यो सक्रियता मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनताको रक्षार्थ कदापि सम्झौता नगरी राष्ट्रिय स्वाभिमानका लागि दृढतापूर्वक सधैँ उभिन सकोस् । लोकतन्त्रको प्राणवायु राजनीतिक दल नै हुन् । दलमा वैचारिक स्पष्टता नहुनु, युवा तथा महिलाको नेतृत्वलाई प्राथमिकतामा नराख्नु, युवापुस्तालाई नेतृत्वमा विश्वास नगरिनुलगायतका विषयले राजनीतिक दलको आन्तरिक र अन्तरपार्टी लोकतन्त्र कमजोर हुन गयो । यी नै विषयमा रूपान्तरणले लोकतन्त्रलाई दीर्घजीवी बनाउने हो ।

दलभित्रको आन्तरिक लोकतन्त्रिक संस्कार, कार्यशैली, व्यवहारमा सुधार गरी सुशासन, पारदर्शिता, जवाफदेहिता, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको सुनिश्चित गरिनु पर्छ । पाकाले आफूभन्दा बाहेकलाई अक्षम देख्ने मानसिकता बदल्नु पर्छ । युवालाई राजनीतिमा अघोषित प्रतिबन्ध लगाई निषेध गर्दा देश दुर्घटनामा प¥यो । जेनजी विद्रोह पुराना दलको उत्तरविहीनता र नागरिकसँगको संवादहीनताको परिणाम हो । अब सच्चिएर जाने समय हो । यस अप्ठ्यारो समयले दिएका चुनौतीलाई अवसरका रूपमा ग्रहण गरेर पुराना दलले पनि आफूलाई रूपान्तरण गर्नै पर्छ ।

लोकतन्त्रमा समभाव र समन्यायको भावना राख्नु पर्छ । फरक विचार र फरक शक्तिको स्थानले पनि अर्थ र महत्व राख्छ । अहिले रूपान्तरणको नारा उठिरहँदा केवल सत्ताका लागि मात्र रूपान्तरणको लडाइँ नबनोस् । हामी कृषिप्रधान देशका नागरिक हौँ भन्ने हेक्का राखौँ । यस क्षेत्रलाई सर्वप्रथम रूपान्तरण गरौँ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण गर्दै आत्मनिर्भर बन्नेतर्फ रूपान्तरित हुन जरुरी छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गरी अनिवार्य, निःशुल्क, सर्वसुलभ बनाऊँ । रोजगारीका अवसर देशभित्रै खोजौँ । वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाऊँ । देशमा सधैँको नीतिगत अस्थिरताका कारण साना तथा मझौला उद्योगीले व्यवसाय सञ्चालन गर्ने वातावरण बिग्रिँदै गयो । जसका कारण लगानीयोग्य रकम बैङ्कमा थुप्रिँदा ब्याजदर सङ्कुचन हुँदै गयो । जसको नकारात्मक असर हाम्रो अर्थतन्त्रमा परिरहेको छ । न्यून लगानी, न्यून रोजगारी, न्यून आय, न्यून उत्पादनको यो दुश्चक्रलाई सुचक्रमा रूपान्तरण गर्नेतर्फ सोचौँ ।

प्रशासन प्रणालीलाई सम्पूर्ण रूपले प्रविधिमैत्री गरी सुशासनयुक्त तुल्याऊँ । हाम्रा उपलब्ध प्राकृतिक स्रोत जल, जमिन, जङ्गल, जनशक्ति र जडीबुटीको उपयोग गर्दै प्रकृतिलाई पर्यटनसँग जोड्ने विषयमा रूपान्तरण खोजौँ । रूपान्तरणका नाममा पुराना दल, नेतृत्व तथा ऐतिहासिक दस्ताबेजको अस्तित्वलाई निमिट्यान्न पारेर होइन । उनीहरूको बलिदानीपूर्ण सङ्घर्ष एवं सत्ता सञ्चालनको लामो अनुभवको कदर गर्दै र युवापुस्ताको देश बनाउने हुटहुटी, ऊर्जा, जोसजाँगर र प्रविधियुक्त ज्ञानको कुशल संयोजनबाट नै अब मुलुकले खोजेको परिवर्तन सम्भव छ ।