• १३ माघ २०८२, मङ्गलबार

चिल्ड्रेन लाईफ कपको उपाधी अमर आदर्शलाई

blog

चौथो संस्करणको चिल्ड्रेन लाइफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि विजेता अमर आदर्श माविको टिम । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की 
काठेखोला (बागलुङ), माघ १३ गते ।
चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधीको अमर आदर्श माध्यमिक विद्यालयले जितेको छ ।

सोमबार भएको फाइनलमा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दै अमर आदर्शले उपाधी चुमेको हो । अमर आदर्शका लागि प्रदिप परियारले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे ।

डिबक्स बाहिरबाट प्रदिपले प्रहार गरेको बलले गोलको जाली चुमेको थियो । प्रदिपको गोल नै अमरलाई उपाधी दिलाउन प्रयाप्त रहयो ।

आइतबार भएको सेमिफाइनल खेलमा अमर आदर्शले न्यू ओयसिस एकेडेमी र आदर्शले आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

उपाधी जितेको अमर आदर्शले ट्रफीसहित नगद ५५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त गर्यो । उपविजेता आदर्श विद्यामन्दिरले ट्रफीसहित ३३ हजार तीन सय ३३ रुपियाँ प्राप्त गरेको छ । यस्तै सेमिफाइनल पुगेका आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल र न्यू ओयसिस एकेडेमीले नगद १० हजार रुपियाँ प्राप्त गरे ।

प्रतियोगितामा अमर आदर्शका प्रदिप परियार सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै अमर आदर्शका असिम केसी उत्कष्ट डिफेन्डर, आदर्श विद्यामन्दिरका निश्चल केसी उत्कृष्ट मिडफिल्डर र सोहन सुनार उत्कृष्ट गोलकिपर घोषित भए । यस्तै चिल्ड्रेन लाइफका उत्सव थापा उदयमान खेलाडी र बरदान थापा सर्वाधिक गोलकर्ता बनेका छन् । त्यसैगरी, गुराँश विद्या सदन अनुशासित टिम बनेको छ । विधागत तर्फका विजेता खेलाडी र टिमलाई ट्रफी प्रदान गरिएको थियो ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा सञ्चालित प्रतियोगितामा बागलुङ जिल्लाका ११ विद्यालयका १२ टिमले सहभागिता जनाएका थिए ।