गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १३ गते । सञ्चालनमा रहेका २९ वटा भन्सार कार्यालयमध्ये एक दर्जन कार्यालयबाट निर्यात नै नभएको पाइएको छ । सबै भन्सार कार्यालयबाट आयात भए पनि एक दर्जन कार्यालय भने निर्यात शून्य अवस्थामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्म तातोपानी, सुथौली, सुनसरी, जनकपुर, महेशपुर, सति, भद्रपुर भन्सार कार्यालयबाट निर्यात शून्य रहेको छ । त्यस्तै निर्यात शून्य रहेका कार्यालयमा सिराहा, राजविराज, सुक्खा बन्दरगाह, टाँडी, गौतम बुद्ध विमानस्थल रहेका छन् ।
निर्यात नै नभएका यी कार्यालयमध्ये केहीबाट आयात भने उल्लेख्य भएको विभागको तथ्याङ्कले देखाउँछ । जसमध्ये तातोपानीबाट २२ अर्ब ३२ करोड, सुथौलीबाट चार अर्ब ६० करोड, सुनसरीबाट एक अर्ब १८ करोड रुपियाँ बराबरको आयात भएको देखिन्छ ।
वीरगन्ज भन्सार पुरानै लयमा
नाकाबन्दी र कोभिड सङ्क्रमणका कारण वीरगन्जबाट अन्यत्र सरेको आयातनिर्यातको काम वीरगन्जमै फर्किन थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार कुल आयातमध्ये करिब ४७ प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । त्यस्तै कुल निर्यातमध्ये करिब ३४ प्रतिशत वीरगन्ज कार्यालयबाट भएको तथ्याङ्कले देखाउँछ ।
आयातको हिसाबले वीरगन्जपछि भैरहवा भन्सार कार्यालय रहेको छ, जहाँबाट छ महिनामा कुल आयातको १५ प्रतिशत अर्थात् एक खर्ब ४० अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको छ । यो नाकाबाट कुल निर्यातको १०.६ प्रतिशत निर्यात भएको छ ।
त्यस्तै विराटनगर भन्सार कार्यालयबाट कुल आयातको १२ प्रतिशत आयात हुँदा निर्यात भने २९ प्रतिशत अर्थात् ४१ अर्ब ४९ करोड रुपियाँ बराबरको भएको देखिन्छ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कुल आयातको ११ प्रतिशत र निर्यातको १३ प्रतिशत हिस्सा ओगटेको विभागको तथ्याङ्कले देखाउँछ ।
यसै वर्ष मात्र सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयबाट भने ११ अर्ब ६८ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको १.२४ प्रतिशत हुन आउँछ । त्यस्तै यो नाकाबाट २० करोड ३० लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । बाढीका कारण चीनसँगको मुख्य व्यापारिक नाका रसुवा भन्सार कार्यालय र तातोपानीमा सडक मर्मतलगायतका कारण सञ्चालन हुन नसक्दा यस पटकबाट मुस्ताङ नाका प्रयोगमा ल्याइएको छ ।