• १२ माघ २०८२, सोमबार

डुम्रे–बेंसीसहर सडक तीन दिन बन्द हुने

blog

कालोपत्रेका लागि बन्द गरिएको डुम्रे–बेँसीसहर सडकको उदीपुर खण्ड । फाइल तस्बिर ।

नवीनराज कुइँकेल

लमजुङ, माघ १२ गते । लमजुङ सदरमुकाम बेंसीसहर जोड्ने डुम्रे–बेंसीसहर सडक सोमबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । बेंसीसहर नगरपालिका–१ उदीपुर पहिरो सडकखण्ड कालोपत्रे गर्नको लागि तीन दिन सडक बन्द हुने भएकाे हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना जारी गरी सोमबार बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जनाएको छ । ४ वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे-बेंसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार सडक बन्द गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गानाले बताउनुभयो ।

नेपाली सेनाको चण्डी प्रसाद गण उदिपुर ब्यारेकमार्फत वैकल्पिक बाटो सञ्चालन आवगमन भइरहेको उहाँले बताउनुभयो । यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीसहर, खुर्द हुँदै हिमाली जिल्ला मनाङ जाने सडक जोडिन्छ ।

सो स्थानमा २०७८ असार १ र २०७८ साउन ११ मा गएको पहिरोले सडक बगाएको थियो । सडक रोकथामको लागि सङ्घीय सरकारले ११ करोड १९ लाख बजेटमा रोकथाम कार्य तथा सो स्थानमा ४ सय मिटरजति सडक कालोपत्रे हुन लागेको छ । डुम्रे–बेंसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीले कालोपत्र गर्नको लागि काम भइरहेको बताउनुभयो । यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।