विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ १२ गते । नेपाली सेनाको राजविराजस्थित बरखगणले आफ्नो २४३औँ वार्षिकोत्सवको अवसरमा बहिरा तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई भोजन गराई न्यानो कपडा वितरण गरेको छ ।
वार्षिकोत्सव मनाउने क्रममा बरखगणले राजविराज नगरपालिका वडा नम्बर ६ मा अवस्थित बहिरा बालक विद्यालयका ३२ जना विद्यार्थीहरुलाई भोजन गराउनुका साथै न्यानो कपडा वितरण गरेको हो।
बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दका अनुसार विद्यालयका २० जना बहिरा तथा १२ जना बौद्धिक अपाङ्ग विद्यार्थीलाई बरखगणको तर्फबाट भोजन गराइएको र सहिद परिवारको तर्फबाट न्यानो कपडास्वरूप ट्र्याकसुट प्रदान गरिएको हो ।
कार्यक्रममा बौद्धिक अपाङ्ग संघका केन्द्रीय सदस्य जगदीश अर्यालले नेपाली सेनाले अपाङ्ग विद्यार्थीका लागि गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । साथै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ थियो ।