राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) माघ १२ गते । स्याङ्जाको वालिङमा हुन लागेको महोत्सवमा कृषि उत्पादन र हस्तकलालाई निःशुल्क स्टल उपलब्ध गराइने भएको छ । कृषि तथा स्थानीय उत्पादनहरुलाई प्रवर्धन गर्ने योजनासहित निःशुल्क स्टल उपलब्ध गराइएको वालिङ उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष तथा स्टल व्यवस्थापन उपसमितिका संयोजक केशव पराजुलीले बताउनुभयो ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक, व्यापारिक लगायतका विभिन्न विधाका स्टलहरू रहने संयोजक पराजुलीले जानकारी दिनुभयो । महोत्सवमा झण्डै ४०० स्टलहरू रहनेछन्, जसमा कृषि, कृषि औजार तथा हस्तकलाका लागि ४० भन्दा बढी स्टलहरू निःशुल्क उपलब्ध हुने उहाँको भनाइ छ ।
स्थानीय उत्पादन र व्यापारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मागका आधारमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको संघले जनाएको छ । यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूका लागि उहाँहरूको आवश्यकता र मागका आधारमा निःशुल्क स्टल उपलब्ध रहेको छ । महोत्सव स्थलमा रहने होटल तथा रेष्टुरेन्टका लागि सबै स्थानीय व्यापारीहरुले खरिद गरेका संयोजक पराजुलीले बताउनुभयो ।
स्याङ्जाको वालिङमा हुने महोत्सवलाई गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिन्छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा गरिँदै आएको महोत्सवको ‘नवौं संस्करण आगामी माघ १४ गतेबाट २५ गतेसम्म गरी १२ दिन सञ्चालन हुने संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । जसको लागि तयारी अन्तिम चरणमा पुगेको श्रेष्ठको भनाइ छ ।